स्थापना र उद्देश्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनासँगै स्थापित भएको राजनीतिक दल हो। स्थापनाको मितीले पुराना दलको स्थानमा नयाँ दल देखिए पनि यसले अंगालेको सांस्कृतिक, ऐतिहासिक र राष्ट्रवादी विचारधाराका कारण नेपालको राजनीतिक परम्परामा जेठो दल हो भने नविनतमा बिचार प्रस्तुत गर्ने भएकोले नयाँ दल हो ।
स्थापनाकालमा नेपालमा नेपाली कांग्रेस र विभिन्न कम्युनिष्ट दलहरूको प्रभाव थियो। यी दुई विपरीत वैचारिक धाराबीच राष्ट्रवाद, प्रजातन्त्र र परम्परागत सांस्कृतिक मूल्यलाई समेट्ने वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपाको उदय भएको हो।
नेपालमा कांग्रेस र कम्युनिष्ट शक्तिहरूले लामो समय राजनीतिक नेतृत्व गरे पनि राष्ट्रिय आवश्यकता र नेपाली मौलिकताअनुकूल स्थिर राजनीतिक पद्धति विकास गर्न सकेनन् । यी दुई धाराबीचको वैचारिक द्वन्द्वका कारण संसदीय लोकतन्त्रको संस्थागत विकास पनि अपेक्षित रूपमा हुन सकेन। यस्तो अवस्थामा राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्तिहरूलाई संगठित गर्दै मध्यमार्गी राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले राप्रपाको स्थापना भएको हो ।
राप्रपाले आफ्नो राजनीतिक यात्रामा राष्ट्रियता, प्रजातन्त्र, सांस्कृतिक पहिचान तथा आर्थिक उदारवादलाई मूल आधार बनाएको छ। सांस्कृतिक दृष्टिले यो परम्परावादी (ऋयलकभचखबतष्खभ) भए पनि आर्थिक तथा राजनीतिक दृष्टिले उदारवादी विचारको पक्षधर मानिन्छ। नेपालको इतिहास, संस्कृति, धर्म, परम्परा र राष्ट्रिय पहिचानको संरक्षण गर्दै आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको विकास गर्ने यसको घोषित लक्ष्य रहेको छ।
तर समयक्रममा पार्टीभित्र देखिएका नेतृत्वगत विवाद, वैचारिक अस्पष्टता तथा बारम्बारको विभाजनले राप्रपाको राजनीतिक प्रभाव कमजोर बन्दै गएको यर्थाथ हो । एक समय देशको तेस्रो शक्तिका रूपमा स्थापित दल पटक–पटक फुट र एकीकरणको प्रक्रियाबाट गुज्रँदा आफ्नो संगठनात्मक बल र जनआधार जोगाउन संघर्षरत रह्यो।
नेपालमा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरूबीच एकता, सहमति र सहकार्यको आवश्यकता अझै पनि रहेको राप्रपाको धारणा छ। सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन तथा संसदीय लोकतन्त्रलाई सुदृढ बनाउन यस्ता शक्तिहरूलाई एकताबद्ध गर्नुपर्नेमा पार्टीले जोड दिँदै आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रमुख राष्ट्रवादी तथा प्रजातन्त्रवादी राजनीतिक दलमध्ये एक हो। यसले संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र तथा राष्ट्रिय एकताको पक्षमा आफ्नो राजनीतिक धारणा राख्दै आएको छ। नेपालको मौलिक संस्कृति, इतिहास र राष्ट्रिय पहिचानको संरक्षणसँगै आधुनिक लोकतान्त्रिक मूल्यहरूको विकास गर्ने उद्देश्यका साथ राप्रपा राजनीतिक यात्रामा अघि बढिरहेको छ।
राप्रपाको इतिहास
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थापना २०४७ साल जेठ १५ गते भएको हो। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र उदार अर्थतन्त्रको सिद्धान्तलाई आधार बनाएर पार्टी गठन गरिएको थियो। तर नेतृत्वसम्बन्धी विवादका कारण स्थापना भएकै दिन पार्टी दुई समूहमा विभाजित भयो। एक समूहको नेतृत्व सूर्यबहादुर थापाले र अर्को समूहको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेपछि क्रमशः राप्रपा (थापा) र राप्रपा (चन्द) अस्तित्वमा आए।
यसरी जन्मिँदै विभाजित भएको राप्रपाले आफ्नो राजनीतिक यात्रामा पटक–पटक फुट र एकताको शृंखला भोग्दै आएको छ।
प्रारम्भिक विभाजन र पहिलो एकता
२०४८ सालको संसदीय निर्वाचनमा दुवै समूहले अपेक्षित सफलता हासिल गर्न सकेनन्। चन्द समूहले तीन सिट र थापा समूहले एक सिट जित्यो। विभाजनले दुवै पक्षलाई कमजोर बनाएको निष्कर्षसहित २०४९ सालमा दुई समूह पुनः एकीकृत भए।
सत्ता केन्द्रित यही विवादका कारण २०५४ सालमा राप्रपा पुनः विभाजित भयो। २०५६ सालको निर्वाचनमा थापा समूहले ११ सिट जित्दा चन्द समूहले उल्लेखनीय सफलता हासिल गर्न सकेन। अन्ततः दुवै पक्षले विभाजनबाट लाभ नभएको निष्कर्ष निकाल्दै २०५७ सालमा पुनः एकता गरे।
एकतापछि २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनायो। त्रिशंकु संसदको अवस्थामा राप्रपा सत्ता निर्माणको निर्णायक शक्ति बन्यो। तर यही अवस्थाले पार्टीभित्र सत्ता र नेतृत्वको संघर्षलाई पनि तीव्र बनायो।
सत्ता संघर्ष र दोस्रो विभाजन
राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने। त्यसपछि पार्टीभित्रको शक्ति संघर्ष चर्कियो। चन्द पक्षले एमालेसँग सहकार्य गरी सरकार परिवर्तन गरायो र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। केही समयपछि सूर्यबहादुर थापाले कांग्रेसको समर्थनमा चन्द सरकार ढाल्दै स्वयं प्रधानमन्त्री बन्न सफल भए।
सत्ता केन्द्रित यही विवादका कारण २०५४ सालमा राप्रपा पुनः विभाजित भयो। २०५६ सालको निर्वाचनमा थापा समूहले ११ सिट जित्दा चन्द समूहले उल्लेखनीय सफलता हासिल गर्न सकेन। अन्ततः दुवै पक्षले विभाजनबाट लाभ नभएको निष्कर्ष निकाल्दै २०५७ सालमा पुनः एकता गरे।
यस अवधिमा राजेश्वर देवकोटाको नेतृत्वमा राष्ट्रवादी धारको छुट्टै राजनीतिक गतिविधि पनि कायम रह्यो।
राजसंस्था र राजनीतिक ध्रुवीकरण
राजा ज्ञानेन्द्रको शासनकालमा राप्रपाभित्र मतभेद झन् बढ्यो। २०५९ सालमा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेपछि पार्टीभित्र विवाद चर्कियो। पछि सूर्यबहादुर थापा पनि राजाको नेतृत्वमा प्रधानमन्त्री बने।
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि राप्रपाभित्र राजसंस्थाको पक्ष र विपक्षमा ध्रुवीकरण बढ्यो। यही क्रममा २०६२ पुसमा कमल थापाले राप्रपा नेपाल गठन गरे। राजेश्वर देवकोटाको नेतृत्वमा रहेको राष्ट्रवादी समूह पनि पछि राप्रपा नेपालमा समाहित भयो। यसअघि सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरिसकेका थिए।
गणतन्त्रपछि पुनः एकता
२०६२/०६३ को जनआन्दोलनपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो। राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीले गणतन्त्रलाई स्वीकार गरे भने राप्रपा नेपालले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा कायम राख्यो।
२०७० सालमा राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भयो। त्यसपछि २०७१ सालमा राप्रपा र राप्रपा नेपालबीच पनि एकता भई एकीकृत पार्टीको नाम पुनः राप्रपा राखियो। संविधानसभामा राप्रपाको प्रतिनिधित्व ३७ सिटसम्म पुगेको थियो।
पछिल्ला विभाजन र पुनः एकीकरण
सरकारमा सहभागिताको विषयलाई लिएर २०७४ सालमा पशुपति शमशेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गरे। त्यसपछि २०७६ फागुनमा राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन समूहबीच पुनः एकता भयो।
तर २०७८ सालको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएपछि कमल थापाले पार्टीबाट अलग भई पुनः राप्रपा नेपाल गठन गरे। उनले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको आरोपसमेत लगाएका थिए।
निष्कर्ष
राप्रपाको इतिहास मूलतः फुट, एकता, सत्ता संघर्ष तथा राजसंस्थासम्बन्धी राजनीतिक दृष्टिकोणका उतारचढावसँग जोडिएको छ। संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र प्रजातन्त्रको एजेन्डा बोकेको राप्रपा विभिन्न समयमा विभाजित भए पनि आवश्यकता र राजनीतिक परिस्थितिअनुसार पुनः एकीकृत हुँदै आएको छ। नेपालको राजनीतिक इतिहासमा राप्रपा फुट र जुटको सबैभन्दा लामो शृंखला बोकेको दलहरूमध्ये एक मानिन्छ।


