तुलसीपुर कारागारमा पुस्तकालय स्थापना

तुलसीपुर । तुलसीपुर कारागारको महिला सेलमा पुस्तकालय स्थापना गरिएको छ । नेशनल प्रेस क्लब अफ नेपाल र नेपाल वान एचडीको संयुक्त प्रयासमा पुस्तकालय स्थापना गरिएको हो । त्यहाँ अहिले ६०० थान पुस्तक उपलब्ध छन् । त्यसमा कानुन, धर्म, जातजातिको संस्कृति, उद्यम, जीवनशैली, प्रेरणादायी, खानपान, योग–ध्यान आदि सबै किसिमको पुस्तक छन् । करिब ८ लाख रुपैयाँको लगानीमा पुस्तकालय स्थापना गरिएको हो ।

विशेषगरी कारागारको कैदी जीवन बिताइरहेका महिलाहरूको पट्यारलाग्दा दिन सहज बनाउन मात्र होइन, जीवनोपयोगी ज्ञान हासिल गर्नसमेत यसले सहयोग गर्ने नेशनल प्रेस क्लब अफ नेपालकी अध्यक्ष मोनिका सिंहले बताइन् । ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियानमा स्थापना गरिएको पुस्तकालयमा आधारभूत जानकारीदेखि जीवन दर्शनसम्मका पुस्तकहरू उपलब्ध छन् ।

अधिकांश पुस्तक नेपाली भाषामा छन् भने केही अंग्रेजी भाषाका पनि छन् । यस्तै त्यहाँ बालबालिकाका लागि पनि पुस्तक, कापीलगायत उपलब्ध गराइएको थियो । उक्त कारागारको महिला सेलमा ४ जना बालबालिका पनि छन् ।

सामाजिक उत्तरदायित्वका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको सिंहले बताइन् । ‘आफू जन्मेको ठाउँबाट यो एउटा सुरुवात गरेको हो’ अध्यक्ष सिंहले भनिन्, ‘यसले प्रभावकारी छाप छाड्छ भन्ने हाम्रो अपेक्षा छ ।’

यसले कैदीबन्दी महिलाहरूको जीवनमा कुनै न कुनै किसिमको प्रभाव पार्ने अपेक्षा उनको छ । ‘यहाँ धेरैथरीको किताब छन्, जुन उनीहरूले आफ्नो रुचिअनुसार छानीछानी पढ्न सक्छन्’ सिंह भन्छिन्, ‘पढेर जीवनोपयोगी जानकारी हासिल गर्न सक्छन्, आफूमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्।’

कैदीबन्दी महिलालाई मनोरञ्जन, ज्ञान र आत्मचिन्तनको अवसर उपलब्ध गराउने उदेश्यले ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियान थालिएको सिंहले बताइन् । उक्त पुस्तकालय जिल्ला प्रशासन कार्यलय, दाङ तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस