घोराही । घोराही उपमहानगरपालिका अन्तर्गत तल्लोभकारेमा निर्माण हुन थालेको १५ शैय्याको नगर अस्पताल अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८२र८३ मा निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब ८५ प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
दुई वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको थियो । सम्झौता मितिमा काम हुन नसकेपछि २०८० मङ्सिरमा पेटी ठेकेदारका रूपमा न्यु चाँदनी निर्माण प्रालिले अस्पताल निर्माणको जिम्मा लिएको थियो । घोराही उपमहानगरपालिकाका इन्जिनियर मधुसूदन खतिवडाले पेटी ठेक्काका रूपमा अस्पताल भवन निर्माणको जिम्मा लिएको न्यु चाँदनी निर्माण प्रालिले हालसम्म निर्माण गर्न सकेको छैन ।
इन्जिनियर खतिवडाका अनुसार अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै प्लास्टरको काम सकिएको छ । बाँकी टायल बिछ्याउने, विद्युत् जडानका लागि वाइरिङ, प्लम्बिङसँगै रङरोगनलगायतको काम भइरहेको जानकारी दिए । उनका अनुसार अस्पताल भवन निर्माणका लागि आठ करोडभन्दा बढी भुक्तानी भइसकेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्रविक्रम सुवेदीले पुस महिनासम्म अस्पताल निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको जानकारी दिए । अस्पतालको भवन गत वर्ष निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम गरेको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उनको भनाइ छ ।
घोराहीको बालापुर निवासी सीता चौधरीले नगर अस्पताल सञ्चालन भएमा घोराही उपमहानगरपालिका १, २, ३ र ४ नम्बर वडाका स्थानीयलाई स्वास्थ्यसेवा लिन सहज हुने बताइन् । अस्पतालको भवन निर्माणका लागि सङ्घीय सरकारबाट बजेट व्यवस्थापन भएको छ भने स्थानीय सरकारका रूपमा घोराही उपमहानगरपालिकाले प्राविधिक रूपमा हेर्ने काम गरेको छ ।
अस्पताल निर्माणका लागि १७ करोड ८० लाख ४५ हजार ९२ रुपियाँ लागत अनुमान गरिए पनि १० करोड ६६ लाख चार हजार ९०१ रुपियाँमा राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अनुसार अस्पताल भवन निर्माणको काम अघि बढाउन नसकेपछि पेटी ठेक्काका रूपमा न्यु चाँदनी निर्माण प्रालिले जिम्मा लिएको थियो । गोरखापत्रबाट


