कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक ठुलो लगानीको रिसोर्ट सञ्चालनमा आएको छ । जिल्लाको शिवराज नगरपालिका वडा २ मा स्थानीय ७ जना व्यवासायिहरुको ५० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।
चन्द्रौटा देखि झन्डै तीन किलोमिटरको दूरीमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएपछि घुम्न जाने तथा खानपिन गर्ने ग्राहकहरूको घुइँचो लागेको छ । तीन बिघा क्षेत्रफलमा निर्माण भएको रिसोर्टले स्थानीय स्तरमा विकास हुनुको साथै पर्यटनमा समेत टेवा पुग्ने विश्वास रहेको छ ।
रिसोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेस्टुरेन्ट, बार, फुड कोट, जिम स्प्रा सोना प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान स्विमिङ पुल रहेको छ ।
२२ बिगा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमा बनेको यस रिसोर्टमा पर्याप्त पार्किङ, विभिन्न प्रकारका वाटर गतिविधिहरू जस्तै लाइभ फिसिङ मोटरबोटिङ, वाटर डान्सिङ्ग फिस लगायतका सेवाहरू रहेको रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
रिसोर्टको सेवालाई थप गुणस्तरीय बनाउने उद्देश्यले नेपालमै हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटी सँग व्यवस्थापकीय साझेदारी गरिएको भण्डारीले बताए ।
पर्यटनमा जोड
घरहरू चिटिक्क पारिएको छ । रिसोर्ट वरपर ठुला ठुला पोखरीहरू छन् । रिसोर्ट भित्र आकर्षक डिजाइनका कटेजहरु छन् । आकर्षक डिजाइनको वाल उद्यान तथा स्विमिङ पुलले रिसोट सजिएको छ ।
यस ठाउँमा पुग्ने जो कोहिले पनि ग्रामीण भेगको आनन्द दिन पाउनेछन् । कपिलवस्तु लगायत लुम्बिनीमा भ्रमणमा आउने पर्यटकलाई यस रिसोर्टमा ल्याउने र यस क्षेत्रमा पर्यटकीय क्षेत्र घुमाउने गरी प्याकेज बनाउने रिसोर्ट संचालक ईश्वरी पाण्डेले बताए । ठुलो लगानीको रिसोर्ट सञ्चालनमा आएको त्यस अनुसार नै विभिन्न निकायहरू सँग सहकार्य गरिने पाण्डेले बताए ।
तिलौराकोट ,शिवगढी हुदै प्युठानको स्वर्गद्वारी पुग्ने पर्यटकहरूलाई गुणस्तीर सेवा प्रवाह गरी रिसोर्ट आफैमा एक पर्यटकीय स्थल बन्ने पाण्डेको दाबी छ । मनोरम दृश्यहरू अवलोकन,सुनसान तथा एकान्त ठाउँमा रहेको रिसोर्ट पर्यटकहरूको लोकप्रिय बन्ने उद्घोष गरे । व्यवस्थापकको जिम्मेवारीमा रहेको सिद्धार्थ हस्पिटालिटी देशका धेरै स्थानमा शाखा बिस्तार गरेको र त्यस अनुसार नै यो रिसोेर्ट पनि विकास हुने उनको भनाई छ ।
स्थानीय उत्पादन उपभोग र रोजगारी
लुम्बिनी ग्रिन रिसोर्टले ६० प्रतिशत कर्मचारी स्थानीय राख्ने बताएको छ । रिसोर्ट सञ्चालनमा क्षमता रहेका स्थानीयलाई रोजगारीको अवसर प्रदान गरिने रिसोर्ट संचालन महादेव पोख्रेलले बताए ।
सिप भएर पनि बेरोजगार रहेका युवाहरूलाई प्राथमिकता दिँदै स्थानीयलाई ध्यान दिने उनको भनाई छ । रिसोर्टमा स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाई व्यवस्थापन गरी रिसोर्टले उपभोग गर्ने पोख्रेलको भनाई छ ।