बिजौरी । दाङको पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने सडकको अवस्था सुधार गर्न बजेट विनियोजन गरिएको छ । सडक साँघुरो र कच्ची हुँदा पर्यटक तथा स्थानीयले आवतजावतमा समस्या भोग्दै आएका छन् । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकको स्तरोन्नति भएपछि छिल्लीकोट पुग्न सहज हुने अपेक्षा गरिएको छ ।
छिल्लीकोट पुग्न दूधरास–सङ्ग्राम र विजौरी–स्यालापानी गरी दुईवटा सडक छन् । तीमध्ये विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक स्तरोन्नतिका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ छुट्याइएको हो । उक्त बजेटबाट सडक कटिङ र नाला निर्माण गरिनेछ । बजेट पर्याप्त नभएकाले तत्काल कालोपत्र गर्न नसकिने र सडक विस्तार तथा नाला निर्माणको काम मात्रै गरिने उनले बताए ।
पर्यटकीय क्षेत्र भएकाले छिल्लीकोट पुग्ने सडक कालोपत्र गर्न आवश्यक रहेको अध्यक्ष योगीको भनाइ छ ।
हाल दुवै सडकबाट छिल्लीकोट पुग्न पर्यटकले कठिनाइ भोग्दै आएका छन् । दूधरास हुँदै जाने सडक सोनापुर सिमेन्ट उद्योगले निर्माण गरेको हो । उक्त सडकमा उद्योगका लागि चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गर्ने भएकाले पर्यटकलाई असहज हुने गरेको छ ।
विजौरी–स्यालापानी सडक पनि निकै उकालो र साँघुरो छ । दुईवटा गाडी एकैपटक आवतजावत गर्नसमेत कठिन हुने गरेको छ । सडकको खराब अवस्थाका कारण आफूले पनि समस्या भोग्नुपरेको आन्तरिक पर्यटक रेशम खत्रीले बताए । सडक विस्तार भएपछि छिल्लीकोट पुग्न सहज हुने उनको अपेक्षा छ ।
सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि स्थानीय खुसी भएका छन् । विजौरी–स्यालापानी सडक सुधार भए पर्यटकलाई आवतजावतमा सहज हुने स्थानीय प्रविर पुनले बताए ।
छिल्लीकोट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्र हो । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले शासन गरेको प्राचीन दरबारका भग्नावशेष यहाँ अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकका लागि प्रसिद्ध कालिका र मालिका देवीका मन्दिर पनि यहाँ छन् ।
समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा रहेको छिल्लीकोटबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जीपलाइन निर्माण भए पनि सञ्चालनमा आएको छैन । होमस्टे सञ्चालनमा छन् भने व्यावसायिक लगानीसमेत बढ्दै गएको छ ।


