घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको सहजताका लागि सार्वजनिक बिदाका दिन र नियमित कार्यालय समयभन्दा बाहिर पनि स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । प्रतिष्ठानले विशेषज्ञ उपचार, सामान्य स्वास्थ्य परीक्षण र विस्तारित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले पारित गरेको ‘विशिष्टीकृत तथा विशेषज्ञ स्वास्थ्य सेवा (सुपर–सब स्पेसियालिटी सर्भिस), सशुल्क सामान्य स्वास्थ्य परीक्षण प्याकेज (जनरल हेल्थ चेकअप प्याकेज) र विस्तारित स्वास्थ्य सेवा सञ्चालन (ईएचएस) कार्यविधि, २०८३’ अनुसार सेवा सञ्चालन गर्न लागिएको उपकुलपति प्राडा अजय मिश्रले जानकारी दिए ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालद्वारा जारी सूचनाअनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नीति कार्यान्वयन, भौगोलिक विशिष्टताका कारण सर्वसाधारणको स्वास्थ्य सेवाको आवश्यकता र अधिकार, प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने योजना तथा कार्यरत चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । प्रतिष्ठानको कार्यकारी परिषद्को २०८३ असोज ७ गतेको बैठकले उक्त निर्णय गरेको सूचनामा उल्लेख छ ।
निर्णयअनुसार शनिबार, आइतबार तथा अन्य घोषित सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि विस्तारित स्वास्थ्य सेवा सञ्चालन हुनेछ । कार्यालय सञ्चालन हुने दिनमा बिहान ७ देखि ९ बजेसम्म र बेलुका ४ देखि ९ बजेसम्म अतिरिक्त समयमा सेवा उपलब्ध गराइनेछ । उक्त अवधिमा विशेषज्ञ ओपीडी, प्रयोगशाला, शल्यक्रिया तथा सामान्य स्वास्थ्य परीक्षणलगायतका सेवा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको यो निर्णयले दाङसहित रोल्पा, रुकुम, सल्यान र प्यूठानलगायत जिल्लाका बिरामीलाई उपचारमा सहज हुने रजिस्ट्रार लम्सालले बताए । नियमित कार्यालय समयमा अस्पताल पुग्न नसक्ने तथा सार्वजनिक बिदाका दिन उपचार आवश्यक पर्ने बिरामीलाई लक्षित गरी सेवा विस्तार गरिएको उपकुलपति मिश्रले बताए ।
चिकित्सक, नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीको हितलाई समेत ध्यानमा राखेर सेवा सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।


