लैंगिक हिंसा अन्त्य गर्न सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था र सरकारी प्रयाससँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा परिवर्तन हुनुपर्ने बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (मंसिर ९ देखि २४ गतेसम्म) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हिंसामुक्त र समानतामूलक समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले लैंगिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लंघन, सामाजिक न्यायको बाधक र समतामूलक समाज निर्माणको चुनौतीका रूपमा व्याख्या गरेका छन् । महिला, बालबालिका तथा लैंगिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुर्व्यवहार र असमान व्यवहार अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले लैंगिक समानता, सामाजिक न्याय, समावेशिता र महिला सशक्तीकरणलाई शासन व्यवस्था, नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिँदै आएको मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गरेका छन् । महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सीप विकास, आत्मनिर्भरता र निर्णय प्रक्रियामा सहभागिता बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताएका छन् ।

त्यसैगरी हिंसाबाट प्रभावित व्यक्तिको संरक्षण, न्यायमा पहुँच र पुनःस्थापनाका लागि पनि प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ । लैंगिक उत्तरदायी शासन प्रणालीको विकास, सामाजिक विभेद न्यूनीकरण र सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्न प्रदेश सरकारले स्थानीय तह, संघीय सरकार, नागरिक समाज तथा सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्दै आएको उनले उल्लेख गरेका छन् ।

हिंसाबाट प्रभावित व्यक्तिलाई सुरक्षित वातावरण, आवश्यक परामर्श, संरक्षण, न्याय र पुनःस्थापनाको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् । लैंगिक हिंसा रोकथाम, हिंसाजन्य व्यवहारको अन्त्य, पीडितमैत्री सेवा प्रवाह र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

१६ दिने अभियानलाई औपचारिक कार्यक्रम र अभियान अवधिमा मात्र सीमित नराखी वर्षभरि लैंगिक हिंसाविरुद्ध जागरण र प्रतिरोधको अभियानका रूपमा अघि बढाउन पनि उनले आग्रह गरेका छन् । यसका लागि राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था, समुदाय तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न उनले आह्वान गरेका छन् ।

मुख्यमन्त्री आचार्यले समानता, सम्मान र न्यायमा आधारित समाज निर्माणका लागि लैंगिक हिंसा अन्त्यलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन् । प्रत्येक नागरिकले सुरक्षित वातावरणमा समान अवसरसहित सम्मानपूर्वक जीवनयापन गर्न पाउने समृद्ध लुम्बिनी निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले सन्देशमार्फत स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस