प्रधानमन्त्री बालेनले आज मोदीसँग भेटवार्ता गर्दै

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बिहान ११ बजे हुने भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।

भेटपछि बिहान ११ः५० बजे नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।

द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्। सोही अवसरमा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा विभिन्न सम्झौतापत्र आदानप्रदान हुनेछन्। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री मोदीले आजै दिउँसो प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजपछि प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सकेर प्रधानमन्त्री शाह आज अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। जयशंकरले होटल ताजमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस