घोराही । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा किसानबाट धान खरिद गर्न थालेको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यअनुसार कम्पनीले देउखुरीको गढवा गाउँपालिकाबाट धान खरिद प्रक्रिया सुरु गरेको हो। गढवा गाउँपालिका–५ स्थित गढवामा संकलन केन्द्र स्थापना गरी किसानको धान खरिद भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले जानकारी दिए।
निमित्त प्रमुख डाँगीका अनुसार चालु वर्ष जिल्लाबाट पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ। सोही योजनाअनुसार गढवाबाट खरिद सुरु गरिएको हो। खरिदको पहिलो दिन एक सय ८७ क्विन्टल धान संकलन गरिएको उनले बताए ।
गढवामा धान खरिदको काम सकिएपछि लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट पनि खरिद गरिने कम्पनीको तयारी छ। सरकारले तोकेको मूल्यमा गाउँमै धान बिक्री गर्न पाएपछि किसान खुसी भएका छन्। बजारमा व्यापारीले सरकारी समर्थन मूल्यअनुसार धान खरिद नगरेको अवस्थामा खाद्य कम्पनीले गाउँमै आएर धान किन्न थालेपछि सहज भएको गढवा गाउँपालिका–५ का किसान बुद्धिराज आचार्यले बताए ।
निमित्त प्रमुख डाँगीका अनुसार केन्द्रबाट सीमित कोटा निर्धारण भएकाले देउखुरी क्षेत्रका तीन पालिकालाई छनोट गरी धान खरिद सुरु गरिएको हो। जिल्लामा धान उत्पादन बढी हुने क्षेत्र भए पनि खरिदको कोटा कम हुँदा सबै किसानको धान खरिद गर्न समस्या हुने भएकाले कोटा बढाउन माग गरिएको उनले बताए ।
जिल्लास्तरीय प्राथमिक खरिद समितिले पनि दाङका किसानको उत्पादन र आवश्यकतालाई ध्यानमा राख्दै धान खरिदको कोटा बढाउन केन्द्रसँग माग गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले हालको पाँच हजार क्विन्टलको कोटा बढाएर १० हजार क्विन्टल पुर्याउन माग गर्ने निर्णय गरेको निमित्त प्रमुख डाँगीले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यका आधारमा खाद्य कम्पनीले किसानसँग धान खरिद गरिरहेको छ। गाेरखापत्रबाट


