दाङबाट अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ, चार भारतीय नागरिक

दाङ । अनलाइन जुवामार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चार जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन्। प्रहरीले उनीहरूलाई लमहीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने नेपालीमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३२ वर्षीय सागर राना रहेका छन्। त्यस्तै, भारतीय नागरिकमा मध्यप्रदेशको भोपालका २४ वर्षीय जसवन्तसिंह तोमर, २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह भनिने हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अनलाइन सट्टेबाजी गराउँदै आएका थिए। अहिले नेपालमा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सञ्चालन भइरहेको छ भने सुर्खेतमा मंसिर ८ गतेदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ। यस्ता प्रतियोगितामा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।

प्रहरीले लमही नगरपालिका–५ रातोडाँडास्थित ‘जस्मिन होटल एन्ड लज’मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। होटलको तेस्रो तलामा रहेको २०३ नम्बरको कोठा भाडामा लिएर उनीहरूले सट्टेबाजी सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ।

गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले शुक्रबार राति करिब १० बजे होटलमा खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले अनलाइन जुवा खेलाउन प्रयोग गरिएका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान स्मार्टफोन बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले ‘कुश ७७७’ र ‘कुश एक्सचेन्ज’ नामका एप्लिकेसन प्रयोग गरी अनलाइन सट्टेबाजी गराउने गरेका थिए। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस