काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि जितेको थियो । यसपटक पनि उपाधि आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्ने लक्ष्य लुम्बिनीको छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमार्फत फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा पनि लुम्बिनी ७ विकेटले विजयी भएको थियो ।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले फाइनल पुग्ने अवसर गुमाएन । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै उसले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो । लिग चरणमा १० अंक जोड्दै दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ ।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो । लगातार दुई फाइनलमा उपविजेतामा सीमित भएको टोली यसपटक भने उपाधि जित्दै विगतको नतिजा बदल्ने लक्ष्यमा छ ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा दुवै टोली मैदान उत्रनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका खेलाडीको उपस्थिति दुवै टोलीमा रहेकाले आजको फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।


