पहिलो विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज मध्याह्न १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत जान लागेका हुन् ।

भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी हुनेछन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने, होटलमा विदेशमन्त्रीले भेट्ने

प्रधानमन्त्री बालेन भारतीय समयअनुसार आज अपराह्न ३ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएका छन् ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ । त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्नेछन् । यसबाहेक भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहका अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएका छैनन् ।

भोलि समकक्षी मोदीलाई भेटेर स्वदेश फर्किने

भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ । उनले बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्ताअघि दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र मोदीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ ।

भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य बढाउने विषयमा छलफल हुनेछ । साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको छ ।

मंसिर ७ गते नै अपराह्न ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने भेटपछि अपराह्न ४ः५० बजे उनी नयाँदिल्लीबाट नेपालका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र प्राथमिकतामा केन्द्रित रहने जनाएको छ । भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुवै देशका साझा प्राथमिकताका क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस