नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर प्रदान गरिएको छ। भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो।
राजकीय भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ। त्यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो। राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री मोदीले शाहलाई स्वागतसमेत गरेका थिए।
प्रधानमन्त्री शाहले आज बिहान ११ः५० बजे नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।
दिउँसो १२ः३५ बजे दुवै देशका प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। सोही अवसरमा दुई देशबीच समझदारीपत्र (एमओयू) तथा विभिन्न सम्झौतापत्र आदानप्रदान गरिनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। त्यसपछि दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा भएका भेटघाट तथा द्विपक्षीय छलफलका कार्यक्रम सम्पन्न गरी उनी आजै साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाह साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।


