स्वास्थ्य बीमाको सेवा लिन अब भौतिक कार्ड अनिवार्य नहुने

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध नागरिकले अब भौतिक परिचयपत्र नबोक्दा पनि बीमाअन्तर्गतको स्वास्थ्य सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा दिन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमितलाई सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।

बोर्डका अनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएर सेवा लिन सक्नेछन् ।

त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमामा आबद्ध भए–नभएको यकिन गर्नुपर्नेछ । त्यसपछि बीमाअन्तर्गत उपलब्ध हुने सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ ।

यसअघि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन भौतिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले कार्ड साथमा नभएका सेवाग्राहीलाई अस्पतालमा उपचार लिन सहज हुने बोर्डका प्रवक्ता पवनकुमार शाहले बताए ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस