नारायणगढ–मुग्लिङ सडक : तुइनखोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा सडक बन्द

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम सुरु गर्न आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।

पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै निर्धारित समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो । गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या देखिएपछि यसको नियन्त्रणका लागि काम गर्न लागिएको हो ।

पहिरो रोकथामका लागि ठूला ढुङ्गा हटाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अपनाइने र पहिरो रोकथाममा मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको थियो । तर, कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा यातायात सहज बनाउन काम रोकिएको शर्माले बताए ।

उनका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने देखिए पनि प्राविधिक मूल्याङ्कनपछि कति समय सडक बन्द गरेर काम गर्ने भन्ने टुङ्गो लाग्नेछ । तत्कालका लागि भने अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम गरिनेछ ।

पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिए । घोप्टेभीरको काम सम्पन्न भएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ ।

सडक बन्द भए पनि काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस