मानव सभ्यताको विकास क्रमसँगै प्रकृतिको उपयोग हुँदै आएको छ। मानिसले आफ्नो आवश्यकता पूरा गर्न पृथ्वीमा रहेका वन, जमिन, पानी, खनिज, हावा तथा अन्य प्राकृतिक स्रोतको प्रयोग गर्दै आएको छ। तर औद्योगिक क्रान्तिपछि प्राकृतिक स्रोतको उपयोग केवल आवश्यकता पूरा गर्ने माध्यममा सीमित रहेन, नाफा कमाउने उद्देश्यले प्रकृतिको तीव्र र व्यापक दोहन गर्ने प्रक्रिया बढ्दै गयो। यही सन्दर्भमा पुँजीवाद र पर्यावरणीय संकटबीचको सम्बन्धबारे व्यापक बहस हुँदै आएको छ।
पुँजीवादी राष्ट्रहरुबाट दिनप्रतिदिन प्राकृतिको अस्वभाविक र अशोभनीय तरिकाले दोहन गर्ने कार्य निरन्तर चलिरहेको छ। पुँजीवाद निजी स्वामित्व, बजार प्रतिस्पर्धा, लगानी, उत्पादन र नाफालाई महत्त्व दिने आर्थिक व्यवस्था हो। पुँजीवाद आफैँ पर्यावरण विनाशको एकमात्र कारण हो। पुँजीवादले यसको असीमित आर्थिक वृद्धि, नाफा अधिकतम गर्ने प्रवृत्ति, अत्यधिक उत्पादन–उपभोग र प्राकृतिक स्रोतलाई वस्तुका रूपमा हेर्ने प्रवृत्तिले पर्यावरणीय संकटलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
पुँजीवादी अर्थव्यवस्थामा व्यवसाय तथा उद्योगको प्रमुख उद्देश्य नाफा आर्जन गर्नु हुन्छ। उत्पादन बढाउँदा र बजार विस्तार गर्दा नाफा बढ्ने भएकाले प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्न दबाब सिर्जना हुन्छ। वनबाट काठ, खानीबाट खनिज, नदीबाट पानी तथा जमिनबाट कृषि उत्पादन निकाल्ने क्रममा दीर्घकालीन पर्यावरणीय प्रभावभन्दा तत्कालीन आर्थिक लाभलाई प्राथमिकता दिइन दिइन्छ । यसले वन विनाश, माटोको क्षय, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको कमी लगाएतका समस्याहरु निम्त्याउन सक्छ। पुँजीवादी अर्थतन्त्रमा आर्थिक वृद्धि, उत्पादन र बजार विस्तारलाई सफलताको प्रमुख सूचक मानिन्छ। उत्पादन र उपभोग निरन्तर बढाउनुपर्ने दबाबले पृथ्वीका सीमित स्रोतमा ठूलो भार पार्छ। पृथ्वीका स्रोतहरु सीमित छन् तर नाफा र आर्थिक वृद्धिको खोजी असीमित छन। यही विरोधाभासलाई पर्यावरणीय संकटको एउटा प्रमुख कारणका रूपमा आलोचकहरूले प्रस्तुत गरेकाछन्
पुँजीवादी राष्ट्रहरुको औद्योगिक उत्पादनका कारण रोजगारी, प्रविधि र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको छ। तर जीवाश्म इन्धनमा आधारित उद्योग, यातायात र ऊर्जा उत्पादनबाट ठूलो मात्रामा हरितगृह ग्यास तथा अन्य प्रदूषक उत्सर्जन हुन्छ। कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासको अत्यधिक प्रयोगले जलवायु परिवर्तनलाई तीव्र बनाउने कार्बन उत्सर्जन बढाउँछ। साथै उद्योगबाट निस्कने धुवाँ, रासायनिक पदार्थ तथा फोहोरले हावा, पानी र माटो प्रदूषित भइरहेको छ। पर्यावरणीय विनाशको असर सबै मानिसले समान रूपमा भोग्दैनन्। ठूला उद्योग र धनी उपभोक्ताले स्रोतको ठूलो हिस्सा प्रयोग गर्न सक्छन्, जबकि गरिब तथा स्रोतमा निर्भर समुदायले प्रदूषण, वन विनाश, विस्थापन वा जलवायुजन्य विपद्को बढी भार व्यहोर्न पर्छ।
कार्ल मार्क्सले आफ्नो राजनीतिक अर्थशास्त्रीय विश्लेषणमा मानिस, श्रम र प्रकृतिबीचको सम्बन्धलाई महत्त्व दिएका थिए। उनको आधुनिक व्याख्यामा पुँजीवादी उत्पादन प्रणालीले प्रकृतिलाई नाफाका लागि निरन्तर उपयोग गर्ने क्रममा मानिस र प्रकृतिबीचको सन्तुलन बिगार्न सक्ने कुरा तर्फ संकेत गरेका छन। अतः पर्यावरण विनाश आज विश्वकै गम्भीर चुनौती बनेको छ।
पुँजीवादी उत्पादन प्रणालीले विज्ञान, प्रविधि, रोजगारी र आर्थिक विकासमा ठूलो योगदान गरे पनि नाफा अधिकतम गर्ने प्रवृत्ति, निरन्तर उत्पादन तथा उपभोगको दबाब र प्राकृतिक स्रोतको व्यावसायीकरणले पर्यावरणीय संकटलाई बढाउन सक्छ यसतर्फ सबैको ध्यान जान जरुरी छ।


