परीक्षा पछि बिदाको सदुपयोगः अभिभावक र विद्यार्थीका लागि सुझाव

आदरणीय अभिभावकज्यू,

नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको छ। नयाँ शैक्षिक सत्र सुरु नहुँदासम्मको बिदा समय बालबालिकाको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण अवसर हो। यस समयमा विद्यालय मात्र होइन, अभिभावकको भूमिका अझ महत्वपूर्ण हुन्छ।

परीक्षा सकिएपछि बालबालिकाहरूलाई धेरै फुर्सदको समय मिल्छ। धेरैजसोले यो समय आराम गर्ने वा मोबाइल चलाउनेमा बिताउने गर्छन्। तर वास्तवमा यही समय उनीहरूको प्रतिभा विकास गर्ने, नयाँ कुरा सिक्ने र जीवनोपयोगी सीप हासिल गर्ने सुनौलो अवसर हो। यदि यस समयलाई सही तरिकाले प्रयोग गरियो भने बालबालिकाको भविष्य अझ उज्ज्वल बन्न सक्छ।

सबैभन्दा पहिले, अभिभावकले बालबालिकाका लागि नियमित दिनचर्या बनाइदिनु आवश्यक हुन्छ। बिहान उठ्ने, पढ्ने, खेल्ने र आराम गर्ने निश्चित समय तालिका भएमा उनीहरू अनुशासित बन्छन्। साथै, पढाइमा निरन्तरता कायम राख्न दैनिक केही समय पुराना पाठ दोहो¥याउने वा नयाँ कुरा सिक्ने बानी बसाल्नु राम्रो हुन्छ।

आजकाल मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको ध्यान विचलित गर्न सक्छ। त्यसैले अभिभावकले मोबाइल प्रयोगमा निश्चित समय सीमा तोकिदिनु आवश्यक छ। यसको सट्टा बालबालिकालाई सिर्जनात्मक गतिविधितर्फ आकर्षित गराउनु अझ उपयोगी हुन्छ। चित्रकला, नृत्य, संगीत, हस्तकला, कथा लेखन जस्ता गतिविधिले उनीहरूको प्रतिभा उजागर गर्छ र आत्मविश्वास बढाउँछ।

यसैगरी, पुस्तक पढ्ने बानी विकास गर्नु पनि अत्यन्तै आवश्यक छ। कथा, उपन्यास वा प्रेरणादायी पुस्तकहरूले ज्ञान मात्र बढाउँदैनन्, सोच्ने तरिकामा पनि सकारात्मक परिवर्तन ल्याउँछन्। पढेको कुरा डायरीमा लेख्ने बानीले सम्झने क्षमता बलियो बनाउँछ।

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि नियमित खेलकुद, व्यायाम र योग अत्यन्त महत्वपूर्ण हुन्छ। खेलकुदले शरीरलाई स्वस्थ राख्नुका साथै टीमवर्क र अनुशासन पनि सिकाउँछ। “स्वस्थ शरीरमा स्वस्थ मन हुन्छ” भन्ने कुरा सधैं ध्यानमा राख्नुपर्छ।

बालबालिकालाई जीवनोपयोगी सीपहरू सिकाउनु पनि उत्तिकै जरुरी छ। घरायसी काममा सहयोग गराउनु, समय व्यवस्थापन सिकाउनु र आत्मनिर्भर बन्न प्रेरित गर्नुले उनीहरूलाई व्यवहारिक जीवनका लागि तयार बनाउँछ।

सामाजिक भावना विकासका लागि सरसफाइ अभियान, वृद्धाश्रम वा अनाथालयमा सहयोग गर्ने जस्ता कार्यमा सहभागी गराउन सकिन्छ। यसले उनीहरूमा जिम्मेवारी र सहानुभूति बढाउँछ।
त्यसैगरी, परिवारसँग गुणस्तरीय समय बिताउनु पनि महत्वपूर्ण हुन्छ। अभिभावकले बालबालिकासँग खुलेर कुरा गर्ने, उनीहरूको भावना बुझ्ने र सकारात्मक वातावरण सिर्जना गर्ने प्रयास गर्नुपर्छ। यसले सम्बन्ध बलियो बनाउँछ।

बिदाको समयमा नयाँ ठाउँ घुम्न जानु पनि लाभदायक हुन्छ। नजिकका धार्मिक, ऐतिहासिक वा प्राकृतिक स्थानहरूको भ्रमणले नयाँ अनुभव र ज्ञान दिन्छ, जसले बालबालिकालाई ताजगी र उत्साह दिन्छ।

अन्त्यमा, डिजिटल समयको सदुपयोग गर्न पनि सिकाउनु आवश्यक छ। युट्युब वा अनलाइन माध्यमबाट शैक्षिक सामग्री हेर्ने र नयाँ सीप सिक्ने बानीले समयलाई अझ अर्थपूर्ण बनाउँछ।

निष्कर्ष

परीक्षा पछि बिदाको समय केवल आराम गर्ने समय होइन। यो बालबालिकाको प्रतिभा खोज्ने, नयाँ कुरा सिक्ने र जीवन सीप विकास गर्ने महत्वपूर्ण अवसर हो। अभिभावकको सानो ध्यान र मार्गदर्शनले बालबालिकाको समग्र विकासमा ठूलो योगदान पु¥याउँछ।

(लेखक गोरखा मावितुलसीपुरका विज्ञानका शिक्षक हुनुहुन्छ)

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस