घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द गरेको छ । सरकारी सर्भरमा देखिएको प्राविधिक समस्याका कारण सेवा बन्द गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल सरकारका प्रणाली तथा वेबसाइटमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेको छ । सोही कारण सरकारी सर्भरमा अवरोध उत्पन्न हुँदा स्वास्थ्य बीमा बोर्डको प्रणालीसमेत प्रभावित भएको हो ।
प्रतिष्ठानका सहनिर्देशक डा. निरोज खनालका अनुसार प्राविधिक समस्याका कारण प्रतिष्ठानबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द गरिएको हो ।
सरकारी सर्भर तथा प्रणाली सुचारु भएपछि स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ । सेवा बन्द हुँदा सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति प्रतिष्ठानले क्षमायाचना गरेको छ ।


