काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि समितिले १० बजेर २६ मिनेट तोकिदिएको छ ।
दक्षिणतिर फर्किएर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।
घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु(बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । दसैँको टीकाले टाढा(टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।


