नारी दिवस

हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएको छ । संयुक्त राष्ट्र संघको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन शुरु गरिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकोमा सन् १९१४ देखिमात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो। नेपालमा वि.सं. २०१६ साल अर्थात् सन् १९५९ देखि यो दिवस मनाउन थालिएको हो ।

नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । विश्वभरी महिला अधिकार, महिला सशक्तिकरण र समानताका लागि यो दिवस मनाइदै आएको छ । मार्च आठ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवस उत्पीडित महिलाहरुको लैगिंक बिभेद बिरुद्धको आवाज हो । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यन्वयन गर्नु पर्दछ । नेपाल भित्र अन्तर्राष्ट्रिय नारी दिवस महिला हिंसा र लैंगिक विभेद अन्त्य गरिनु पर्ने विषयमाथि केन्द्रित छ । नेपालमा बहुसंख्यक हिन्दू धर्मालम्वी रहेका छन् । हिन्दूशास्त्रअनुसार नारी सर्वे सर्वा पुज्य छन् । हिन्दु धार्मिक ग्रन्थमा उल्लेख छः–
यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता
जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवतापनि खुशी हुन्छन् । वैदिक सनातनको यो श्लोकबाट थाहा हुन्छ आदिशक्ति नारीको सम्मान गर्दा मात्र देवता खुशी हुन्छन् । नारी विना सृष्टि सम्भव छैन । वैदिक कालदेखि हालसम्म नारी शक्तिकी खानी भएको कुरामा सबै सहमत छन । सत्य, त्रेत्रा, द्वापर युगमा नारीको सम्मानजनक गाथा भएको पाइन्छ ।

विद्याकी खानी देवी सरस्वती, धनकी देवी लक्ष्मी, शक्तिकी देवी पनि नारी नै थिए । अझ नारीलाई सम्मानका लागि नामोच्चरण गर्दा पनि राधाकृष्ण, सीताराम, गौरीशंकर, लक्ष्मी नारायण जस्ता नामका अघाडि नारीका नाम आएका छन् तर हाल २१ औं शताब्दीमा आइपुग्दा उनै नारीहरु शिक्षाबाट बञ्चित छन् ।सम्पत्तिको आधिकारको लागि लडिरहेका छन् । शक्तिकी स्वरुपा देवी महाकाली नारी थिइन् तर उनै नारी घरेलु हिंसाबाट पीडीत छन् । आखिरी कसरी नारी २१ औं शताब्दीमा आइपुग्दा पछि परे त ? यो नै समीक्षाको विषय हो । हिन्दु धर्म शास्त्र र पूर्वीसभ्यता अनुसारः
नग्रहं गृहं मित्याहु गृहिनी गृहमुच्यते
गृहं गृहिणी हिनम अरण्यं सदृशायते ।
त्यो घर हैन जहाँ गृहिणीले घर त्याग गरेकी छे । गृहिणी नभएको घर जङ्गल सरह हुन्छ । यहि श्लोकबाट चरितार्थ हुन्छ संस्कार र संस्कृतिमा नारीको कति सम्मान छ । नारीसँग जस्तो सुकै समस्यालाई सामना गर्न सक्ने क्षमता हुन्छ । त्यसैले नारीलाई प्रकृतिसँग तुलाना गरिएको पाइन्छ । तर विडम्बना मान्नु पर्दछ । परापूर्वक कालमा देवताहरुको उद्वारको लागि अघि बढ्ने शक्ति स्वरुपा नारी आज घरेलु हिंसा जस्तो सामाजिक अपराध सहन बाध्य छन् । शिक्षा, स्वास्थ्य, सम्पत्ति, नागरिकता, राजनीतिक सहभागिताको लागि आवाज उठाइरहेका छन् । महिला दिवस सभा गोष्ठी गरेर मनाउनु मात्र नारीको सम्मान हुँदैन । नारी दिवस मनाइरहन्दा नारीका हकहित अधिकारका कुरामा वकालत गर्ने मात्र होइन नारी अधिकारका जती कुरा गरेपनि औपचारितामा नै सिमीत भएका छन् ।

तसर्थ नारीहरुका हित र अधिकारका लागि शिक्षा, रोजगार र नीती निमार्णमा महिला सहभागिता नभएसम्म साङ्केतिक रुपमा यस्ता दिवस मनाउनु कुनै अर्थ रहँदैन त्यसैले महिलामैत्री कानून संविधान बनाउनु सके मात्र यस्ता दिवस मनाउनुको औचित्य हुनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस