हात्तीखौवाको रंग

आजभन्दा झन्डै १५/२० दिन पहिले हात्ती खौवामा एउटा रंग देखिएको थियो अफिस टाइममा विद्यालय, कर्मचारीका सवारी साधनको लामो लाइन, हात्तीखौवाको पुलको दुबैतिर डोजर र ट्रिप्परको ताँती अनि बालुवाको थुप्रो । लाइनका गाडीहरुलाई अफिस विद्यालय ढिलाहुने चिन्ता हर्नको कोलाहल ।

हामी पनि त्यहीँ लाइनमा भएकाले दायाँबायाँ अगाडि पछाडि त हेर्नै पर्यो, छेउमा बसेर ट्रिप्परको बालुवा झार्न हातले इसारा गर्दै गरेका एकजना अधबैँसे दाजुलाई सोधिहालेँ के भको हो दाजु ? के गर्न आँटेको ? उहाँको जवाफ ‘बाटो बनाउँदै हो’ अनि अफिस टाइम छलेर गरेको भए हुन्थ्यो नि, दुःख भयो नि त अफिस, स्कुल जानेहरुलाई मैले भनेको के थिएँ उहाँ रिसाए झैँ गरेर भन्नुभयो, ‘बाटोको पैसा एउटाले खाएर, बाटो जति खाल्डैखाल्डा पारेर, यो गति बनाएर छोड्यो, दुःख जनतालाई, कुनै सरकारी बजेटमा काम गरेको भएको अनुकुल समयमा हुन्छ त। डोजर, ट्रिप्पर, ट्याक्टर र कन्स्ट्रक्सन कम्पनीहरुका साउहरुले साह्रै हैरान भयो बाटोको यो अवस्थाले, भनेर बनाउन थालेको, अनि जति बेला सबैका साधनहरु जुट्न सके त्यतिबेलै भयो नि काम ।’ उहाँको आक्रोशको छाल अलिकति ममाथि पनि खनियो । मुसुक्क हाँस्दै मैले भनेँ ‘ए ए त्यसरी बन्न थालेको यो बाटो, हो त नि दाजु यस्तै भयो नेपाल । धन्न हजुरहरु जस्तो समाजसेवी दुई चार जना बाँच्नुभको छ र देश बचेको छ, नत्र बिजोग हुन्थ्यो नि हजुर’ यति भन्दा भन्दै बाटो खुल्यो कुद्नु परिहाल्यो ।

कतै जान गाडी चढ्यो समयमा पुगिन्न, मोटरसाइकल, साईकल, पैदल हिड्दा कस्तो दुर्दशा हुन्छ त्यो त तपाईं आफैले पनि त भोग्नु भएको होला नि, मोटरसाईकलमै हुनुहुन्छ, जाबो एकजना ठेकेदारले पैसा खाएर भाग्यो बाटोको यो हालत गराएर भन्दैमा त्यसलाई पकडेर काममा लगाउन नसक्ने सरकार किन चाहियो ? त्यसलाई कर हामीले किन तिर्नु पर्यो ?

भरे फेरि अफिसबाट फिर्ता हुने बेला भयो। बाटो सररर सररर, हिजो अस्ति मेरुदण्ड फुस्किने गरि उफार्ने मेरो थोत्रो स्कुटर, आज त जेटमा सरररर सरररर भए जस्तै, एक ठाउँ पनि नउफारी आइपुग्यो बिजौरी चोक । स्कुटर पछाडी छोरी पकडेर बसेकी बुढीलाई भनेँ, ‘हेर त बाटो बने पछि त ७ मिनेटमै बिजौरी आइपुगिंदो रहेछ त, अस्ति अस्ति त ३३–३५ मिनेट लाग्यो, शरीरको सबैभाग थिलोथिलो भएको महशुस हुन्थ्यो। ढाडको हाड त कुनै सकुशल छ जस्तो लाग्थेन, कम्तिमा पनि दिनमा सात पटक ढाड दुख्दा, मेरो आत्मले बाटोको यो दशा बनाएर छोड्नेलाई, सत्तो सराप गर्थ्यो, त्यो सराप उसलाई लागेको छ या छैन, थाह छैन। आहिले त तुलसीपुर–घोराहीको बाटोमा नभएर कोहलपुर–नेपालगञ्जको सडकमा हिँडे जस्तो पो फिलिङ्ग भयो त है ? यो बाटो जोसुकैले बनाको भए पनि, जयजयकार होस् त्यसको। बुढीले पनि स्वीकारोक्ति जनाइन् ।

दुई चार दिनसम्म त सजिलै हिँडियो बाटोमा । दुई चार दिन पछाडी काठमाडौँ तिरबाट आएका लामा बस, चित्रकुट पर्वत नै बोकेर हिँडेका हुन् कि जस्तो लाग्ने ट्रिप्पर, जेटविमान झैँ हुँइकिने स्कूलबस र सेता कुखुरा बोकेर हिँड्ने महेन्द्राका गाडीको पछाडी परियो भने त आँखाभरि बालुवा परेर बिजोग, लगाएका नयाँ कपडाहरू त छिनभरमै नालाबाट निकालेर लगाएजस्ता भैहाल्ने। अगाडी लाग्यो उनीहरुको ८०–१०० कि.मि./घण्टाको स्पिड भन्दा बढीमा हिड्दा बच्चाबच्ची सहित कता खाल्डामा परिने हो चिन्ता, जेजस्तो भए पनि पेट त पाल्नै पर्यो । जागिर नखाए मुखले खान पाउँदैन, मुखले खान नपाए हरिॐ तत्सत् भैहाल्छ, जीवन त सबैलाई प्यारो छ नि हैन र ? जे भए पनि दिनचर्या नेपाली भएकै कारणले होला दीनचर्या झैं चलाउनै पर्यो । यसैगरि चलेको जीवनको थोत्रो स्कूटर गुडेकै थियो ।

थोत्रो स्कूटर चढेर गन्तव्य तिर लाग्दा मनमा फेरि गन्थनमन्थन उठ्दै रहे नेपाल सरकार भएको भए यो हात्तीखौवाको विवशताले पिल्सिएर निक्लिएको रौद्ररंगलाई शान्त पार्न, बाटोको यो हरिबिजोग बनाएर भाग्ने ठेकेदारलाई हतकडी लगाएर हात्तीखौवाबाटै काम शुरु गराएर निर्मल पार्थें होला तर म त निमुखो नेपाली जनता हुँ हजुर के गर्ने ?

आज फेरि अफिस पुर्याएर फर्कँदै थिएँ हात्तीखौवामै बाटो भरि ढुङ्गाको थुप्रो लगाएर मान्छेहरु बाटो बन्द गर्दै थिए, गाडीको लाम सुरु भइसकेको थियो दुबै तर्फ, दायाँबायाँ कतैबाट छिर्न सकिन्छ कि हेरेँ, पुरै बन्द गर्दै हुनुहुन्थ्यो, दोकान भित्रबाट डेक्स टेबुल निकालेर बाटोमा तेर्साउँदै हुनुहुन्थ्यो दिदी बहिनीहरु, कताकता छलेर मैले पारगराएँ स्कूटर त, स्कुटर गन्तब्यतर्फ पार गराइसकेपछि, अलिपर बाटोको छेउमा उभ्याए, के रहेछ त यो भनेर चासो जाग्यो, अनि लागें बाटोतिर – हातका चार ओटै औला, नाडी र घाँटीमा समेत सुनका मोटा गरगहना पहिरिएका, एकजना दाजु, ढुङ्गा बटुल्दै बाटोमाझमा पर्खाल बनाउँदै हुनुहुन्थ्यो ।

उत्सुकतालाई रोक्न नसकेर सोधिहालेँ, के भको दाइ यो ? किन बाटो बन्द गर्नुभको ? ‘यो बाटो दुर्दशा तपाईका आँखाले देखेका छैनन् ? हेर्नु न हाम्रा पसल – घरको हालत । दिनभरि हामीले यो धुलो खाएर बस्नु पर्दछ । सानासाना बच्चाबच्ची धुलोले बिरामी परेर हैरान छ। कतै जान गाडी चढ्यो समयमा पुगिन्न, मोटरसाइकल, साईकल, पैदल हिड्दा कस्तो दुर्दशा हुन्छ त्यो त तपाईं आफैले पनि त भोग्नु भएको होला नि? मोटरसाईकलमै हुनुहुन्छ। जाबो एकजना ठेकेदारले पैसा खाएर भाग्यो बाटोको यो हालत गराएर भन्दैमा त्यसलाई पकडेर काममा लगाउन नसक्ने सरकार किन चाहियो ? त्यसलाई कर हामीले किन तिर्नु पर्यो ? त्यसका हरेक नीति नियम हामीले अक्षरशः पालन गर्नैपर्ने, एक दिन मिति गुज्य्रो भने त्यो सरकारलाई हामीले तिर्ने करको पनि जरिवाना तिर्नुपर्ने ? त्यो सरकारले थालेको यो सडकको कामको यत्रो मिति गुज्रिसक्यो, कतिजनाले त यो सडककै कारण ज्यान गुमाए। त्यो जरिवाना यो सरकारले तिर्नु पर्छ कि पर्दैन ? लौ भन्नुहोस् त तपाईं? अब घोराहीदेखि तुलसीपुरसम्म, हरेक चोकचोकमा, यस्तै बाटो जाम गरेर बन्द गर्नु पर्छ। हामी सबैतिर समन्वय गर्दैछौँ, हेर्दै जानु न। बरु तपाईले पनि भोलिदेखि आफ्नो ठाउँमा मान्छेहरुलाई एकजुट गरि, बन्द गर्न शुरु गर्नुहोस् ।’ मानौँ म नै सरकार हुँ र उहाँका अगाडि सरकार प्रस्तुत भएको छ जस्तो गरेर, सबैजनाले मलाई बाटोको बीचमा नै घेरेर, उहाँहरुको आक्रोशको छाल ममाथि खन्याउन थाल्नुभयो ।

असह्य भएपछि स्वतस्फूर्त जनता जागे जस्तो लाग्यो मलाई, मैले भनेँ ‘ठिक हो हजुरहरुको कुरा तर म सुन्ने निकाय नेपाल सरकार होइन । हजुरहरु जस्तै निमुखो नेपाली जनता हुँ म ।’

अनि फेरि थोत्रो स्कूटर चढेर गन्तव्यतिर लाग्दा मनमा फेरि गन्थनमन्थन उठ्दै रहे। यदि म नेपाल सरकार भएको भए यो हात्तीखौवाको विवशताले पिल्सिएर निक्लिएको रौद्ररंगलाई शान्त पार्न, पैसा कुम्ल्याएर बाटोको यो हरिबिजोग बनाएर भाग्ने ठेकेदारलाई, हतकडी लगाएर हात्तीखौवाबाटै काम शुरु गराएर, निर्मल पार्थें होला तर म त निमुखो नेपाली जनता हुँ हजुर के गर्ने ?

मैले त सहनशील बनेर अन्याय र अत्याचारका पहाड सुन्न सक्छु, देख्न सक्छु, भोग्न सक्छु अनि फेरि पटकपटक निर्वाचनमा गएर आँखामा पट्टीबाँधेर मतदान गर्न सक्छु । त्यत्ति हो मैले गर्न सक्ने। न त मैले अन्याय रअत्याचारका बिरुद्ध बाटो जाम गर्नसक्छु न त बोल्न सक्छु ।
हरिॐतत्सत् ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस