उसो त म पुस्तक खासै नपढ्ने मान्छे । धेरैपछि आज हातमा पुस्तक लिएको छु । पढ्न मन लाग्यो । अस्ति राति गजेन्द्र दाइको फोन आएको थियो । धेरैपछि दुई भाइको केहीबेर भलाकुसारी भयो । फोन राख्नुअघि सोधेको थें, दाइ के गर्ने होला ? पढ् मुला, दाइको जवाफ थियो….। के पढ्ने दाइ ? मैले सोधें । यो, ऊ मैले जान्दैन, जे भेट्चस् त्यही पढ् तर पढ्……. गजेन्द्र दाइको ठाडो निर्देशन थियो । अनि फेरि सुझाउँदै भन्नुभयो– एक लाख शब्द पढ् अनि एक हजार शब्द लेख्, छान्नलाई तँ सँग ९९ हजार शब्द हुन्छन्, त्यही भएर पढ्….। बुझिस् नि ? हस्, बुझें… दाइलाई भनेको थिएँ । त्यही सम्झिएँ, त्यसैले आज पढ्दैछु……।
दश पेजसम्म पुग्दा पनि पढ्न प्रेरित गर्ने केही गुदी भेटिनँ त्यो किताबमा तर पढिरहें……। एघारौं पेजको बिचोबीचमा लेखिएका केही शब्द थिए, जो यो मन र मस्तिष्को गहिराइसम्म पुगेछन् । दिमाग उतै अल्झिएछ, मैले भने पढिरहें १५ पेजसम्म पढें तर के पढें याद छैन मात्रै त्यही ११ पेजको बीचमा लेखिएका शब्द बाहेक । त्यसपछि भने मैले किताब बन्द गरें……..। मलाई लालेको यादले निकै सतायो । मन बेचैन जस्तै भयो । केही हराएको जस्तो, केही गुमाएको जस्तो अनि केही पाइन्छ कि ? आशा पलाए जस्तो, कस्तो हो, कस्तो अनौठो….। मनमा अनेक प्रश्नहरु उब्जन थाले । अँ साँच्चै, कहाँ होला लाले ? के गर्दै होला लालेले ? त्यसबेलाको मेरो साथी लाले, मेरो दुश्मन लाले ! उसबेला मेरो धेरैथोक थियो, लाले ! मान्छे कति स्वार्थी हुँदोरहेछ ! कति छिटै बिर्सिसके छु, उसलाई मैले…धेरै नै ग्लानीबोध भयो । मनमा फेरि प्रश्नहरु खेल्न थाले…। आजभोलि कस्तो देखिन्छ होला लाले ? देशमै होला कि विदेशमा ? बिहे गरे होला कि नाइ ? छोराछोरी पो पाइसक्यो कि ? आदि….। १३ वर्ष पहिलाका लखनउको एक होटलमा भेटिएको लालेलाई सम्झिएँ अनि यो मानसपटलमा त्यसबेलाका अनेक कुराहरु सल्बलाउन थाले ।
गाउँमा साथीहरु लाहुर जाने/आउने क्रम चलिरहन्थ्यो । कोही भागेर जान्थे त कोही घर सल्लाहमै….। साथीहरु केही महिना कमाएर आएपछि देखिने फुर्ती निकै लोभलाग्दो हुन्थ्यो……। टाउकोमा रुमाल बाँधेका, कालो चस्मा, टाइट टिसर्ट र जिन्सको पाइन्ट अनि ड्याम जुत्ता । खाइलाग्दा, चिरिच्याट्ट परेका । कोही कोहीले गाउँमा यस्सो चुरोट तान्दै बाटोमा हिंडेका देखिन्थे, कोहीले मसला (गुट्खा) प्याच्च पार्दै हिंडेका……। कहिलेकाहीं बाटोमा भेट्दा भन्थे– के छ ठीक छस् नि केटा ? अँ यार ठीकै त भनम्, मेरो जवाफ हुन्थ्यो तर मनमनै सोच्थें यस्तै दिन कहिले आउलान् ? जब चाडवाड शुरु हुन्थ्यो, लाहुर गएका धेरैजसो घर फर्कन्थे । त्यसमा मेरो उमेरका पनि थुप्रै हुन्थे । जब बेलुका हुन्थ्यो, मोतीपुरे खेतका आलीमा बसेर लाहुरका कुरा सुनाउँथे साथीहरुले । लखनउका तन्दुरी रोटी र दाल फ्राइ, पनिर चिल्ली र तन्दुरी नान, डोसा र पनिर चाउमिन अरु के–के, के–के । साथीका कुरा सुनेर थुक निल्ने मात्रै हुन्थ्यो । अनि केहीले सुनाउँथे पञ्जाबको पार्टी लाइनका लेग पिस र फिस फ्राइ, कोल्ड ड्रिङंग्स् र मोक्टल, रोयल स्टक, सिग्नेचर र एन्टिक्युटीका रसिला कुरा । यी सबै सुन्थें र रमाउँथें । मैले पनि निश्चय गरें, एसएलसी दिएर म पनि लाहुर जान्छु । जान दिए सोधेर नदिए भागेर !
२०६४ चैत २८ गते मेरो एसएलसी परीक्षा सकियो । बालाई भन्ने हिम्मत थिएन । मैले आमासँग भनें म लखनउ जानी हुँ, बुवालाई भन्दिनुहोला । अर्को दिन मेरो प्रस्ताव बुवाबाट अस्वीकार भएको खबर आमाले सुनाउनुभयो । म रिसले चुर भएँ । म पनि के कम धम्कीको भाषामा बाको रिस आमालाई पोखें, पठाउनी भा पठाउनुस्, नत्र भागेरै भए पनि जान्छु….। अर्को दिन खाना खाने बेलामा सबै एक ठाउँमा जम्मा भएका थियौं । आमाले बुवालाई सम्झाउँदै भन्नुभयो । रहर गरेको छ, एकपटक जान दिम्, चेत खान्छ र आउँछ । आमातिर आँखा देखाउँदै बुवा जंगिनुभो… नकरा तँ बढी । बुवाको पठाउने मनसाय थिएन । म सानैदेखि धेरै बिरामी भएका कारण जोगाउन धेरै कष्ट उठाउनु परेको थियो बुवाआमालाई । त्यसैले पनि होला, पठाउने मनसाय थिएन उहाँहरुको तर मेरो जिद्दीका अगाडि केही लागेन…..। निरन्तरको मेरो ढिपी, आमाको अनुरोध र छरछिमेकीको सल्लाहले बुवाको मन अलिक नरम भएजस्तो महसुस गरें । लाग्यो, ओहो ! अब म पनि लाहुर जान पाउने भएँ । केही दिनमा म पनि लाहुरे हुने भएँ……। म मेरो सपनाको संसारमा पुग्न पाउने भएँ । भोक, निद्रा सबै हरायो…….।
जब बेलुका हुन्थ्यो, मोतीपुरे खेतका आलीमा बसेर लाहुरका कुरा सुनाउँथे साथीहरुले । लखनउका तन्दुरी रोटी र दाल फ्राइ, पनिर चिल्ली र तन्दुरी नान, डोसा र पनिर चाउमिन अरु के–के, के–के । साथीका कुरा सुनेर थुक निल्ने मात्रै हुन्थ्यो । अनि केहीले सुनाउँथे पञ्जाबको पार्टी लाइनका लेग पिस र फिस फ्राइ, कोल्ड ड्रिङंग्स् र मोक्टल, रोयल स्टक, सिग्नेचर र एन्टिक्युटीका रसिला कुरा ।
२०६५ साल वैशाख ५ गते म लाहुर हिंड्ने दिन आयो । बिहानै ५ बजे घरबाट हिंड्ने हो, ४ बजे उठें । चरक्क घाम नलाग्दै ननुहाउने मान्छे आज चैं बिहानै नुहाएँ । ट्याकटुक परिसकें । झोला हिजो बेल्कै तयार पारिसकेको थिएँ । म हिंड्ने सरखर चल्दैछ । घरको मूल ढोकाको दुबैतर्फ कलस छन् । हिंड्नुअघि भाइहरु अघिपछि गर्दै भन्छन्– ‘दाइ अब कहिले आउँछस् ? हाम्लाई के ल्यैदिन्चस् ?’ ‘हिंडिसकेपछि फर्किन हुन्न नि ! केही बिर्सेलास्, राम्रैरी हेर ।’ आमा सम्झाउँदै हुनुहुन्छ । ‘निस्किँदा माथितिर फर्केर ढोगेस् ।’ बुवाको आदेश छ । बुवाआमाले भनेको सबै बिधि पु¥याएँ । भाइहरुलाई चाँडै फर्किने अनि फर्कंदा के–के हो, के–के ल्याइदिने बाचा गरें र निस्किएँ घरबाट, बुवा पनि पछिपछि आउनुभयो । हामी चारजनाको टोली थियो । भिनाजु, म र अरु दुई साथी । घरदेखि मोतीपुर गेटसम्म आउँदा बुवाले भिनाजुलाई धेरै सम्झाउनुभयो । भन्दै हुनुहुन्थ्यो– ‘धौ–धौ बचाको, नजा भन्दा मानेन, केही अप्ठ्यारो पर्ला, हुन त तपाइँलाई सबै थाहा छ तर पनि केही अप्ठ्यारो परे तुरुन्तै खबर गर्नुहोला….।’ यस्तै–यस्तै । हामी मोतीपुर गेटमा आइपुग्यौं । उतिबेला अमिलियाको बाटो त्यति चलन चल्तीको बाटो थिएन, थोरै गाडीहरु मात्र गुड्थे । नेपालगञ्ज जाने गाडी मोतीपुर गेटमा आइपुग्यो । त्यतिबेलासम्म पनि मलाई कतै बुवाले रोक्नुहुन्छ कि भन्ने डर थियो । त्यसैले हत्तपत्त गाडी चढ्दै बुवासँग विदाइको हात हल्लाएँ…..। टाढिदै गरेको छोराको त्यो हतपत देखेर होला, बुवाका आँखाभरि आँसु थिए । उतिबेला मैले मतलब नगरेको त्यो पल बुवामाथि के बितेको रहेछ भन्ने आज म पूरापुर महसुस गर्न सक्छु । किनकि छोरो पनि मेरो कुमसम्म आइपुगेको छ । गाडी अघि बढेकै थिएन, ‘ल राम्ररी जानु’…. बुवा आँसु पुछ्दै घरतिर फर्कनुभयो । सायद आफूबाट टाढिदै गरेको हेरिरहने हिम्मत थिएन, उहाँमा । बा रोएको त्यतिबेलै देखेको थिएँ…। केही बेर त नरमाइलो लाग्यो तर त्यो क्षणको मलाई खासै वास्ता भएन किन भने म लाहुर जाँदै थिएँ, अब मलाई कसैले रोक्दैन भन्नेमा ढुक्क भएँ…..।
दिउँसो १२ बजे नेपालगञ्ज जमुनाहा नाका हुँदै छोडियो नेपाल अनि तय भयो रुपैडिया बसपार्कबाट लखनउको यात्रा…..। करिब बेलुकाको ५ बजे गाडीले हामीलाई गन्तब्यमा पुर्यायो…. लेखिएको थियो, केशरबाग बस स्टेशन अमिनावाद….। हामी पुग्नुपर्ने ठाउँ अमिनावाददेखि अलि पर रहेछ । भिनाजु अघि लाग्नुभयो, हामी पछिपछि । ठूला–ठूला घर, गाडी मोटरको ओहोर/दोहोर उस्तै । व्यस्त बजार, कतिधेरै मान्छे…। मनमनै सोचें, ओहो ! यस्तो भएर पो लाहुर भन्दारै’छन् । थोरै हिंडेपछि रिक्सा चढियो । ‘नेपाल हुँदा पो हिंड्ने, ह्याँ पनि के हिंड्ने ?’ भिनाजु हामीतिर हेरर जिस्किनुभयो । हामी पनि हाँसिम्…..। कोठामा पुगियो । सबै काममा गएका रै’छन्, कोही थिएनन् । रातिको १० बजेको थियो, भिनाजुले हामीलाई बजार घुमाउन लैजानुभयो । कति झिलिमिली बजार । अघिभन्दा झन धेरै गाडीको घुइँचो । किनमेलका लागि बजार जानेहरुको भीडभाड उस्तै । पसल, रेष्टुरेन्ट र होटलहरु भरिभराउ छन् । यतिबेला त हाम्रो नेपालमा बजार हो या होइन छुट्याउनै मुस्किल पर्छ । १२ बजे हामी कोठामा फर्कियौं । काममा गएकाहरु पनि सबै फर्किसक्नुभएको थियो । हामी आजै नेपालबाट गएका वरपरका कोठामा बस्ने नेपालीहरुलगायत सबैको जमघट भयो । उतिबेला अहिले झैं फेसबुक, म्यासेन्जरलगायतका सामाजिक सञ्जालको यति ब्याप्त प्रयोग थिएन । हामीले गाउँघरको बारेमा जानकारी गरायौं । मीठा भलाकुसारी भए । रातिको डेढ बजिसकेको थियो, एकजना अंकल बसेका स्थानबाट उठ्दै भने– ‘लौ अब त सुत्नुपर्छ, भोलि त काममा जानुपर्ला ए…।’ अंकल आफ्नो कोठातिर लागे । हामी पनि भोलिदेखि नै काममा लाग्ने कुरा थियो । ‘लौ अब सुत्नुपर्छ सुतौं ।’ भिनाजुको आदेश जारी भयो । राति २ बजे पल्टियौं ।
अर्कोदिन बिहानै ९ बजे उठ्यौं, न्वाइध्वाइ चल्यो । चिया नास्ता खाएपछि भिनाजुले भन्नुभयो– ‘अब घर फोन गरौं, त्यसपछि काममा जाम्ला ।’ उसो त बाटैभरि पोलपोलमा फोन गर्ने डब्बा झुण्ड्याइएका थिए तर भिनाजुले हामीलाई फोन गर्न अमिनावाद पु¥याउनुभयो । घरमा फोन गरियो, भिनाजुले कुरा गर्नुभयो । हामी राम्रै आइपुग्यौं । यताको चिन्ता नगर्नुहोला । लौ एकेसँगै कुरा गर्नुस् । मलाई गाउँघरमा सबैले एके भन्छन् । हातमा फोन लिएर कानसम्म पुर्याउँदैथें आमाको बोली सुनिहालें, एके….सन्चै छस् । मन भरियो, बोली नै आएन, रोएँ, रोइरहें । एकछिनपछि भिनाजुले मेरो हातबाट फोन तानेर भन्नुभयो– ‘रुन्च मात्रै बोल्दैन । घर नछोडेको मान्छे पीर मान्या होला ? यसलाई म सम्झाउँछु । तपाइँहरुले पीर नमान्नुहोला । अहिले फोन राखें ।’ लौ हिंडओ भिनाजु अघि लाग्नुभयो, हामी पछि–पछि, केहीबेरमा पुग्यौं हामीले काम गर्ने भनिएको ठाउँमा । लेखिएको थियो, गौरव भोजनालय एण्ड फास्टफूड । लखनउको मेडिकल चौराहा चोकनजिकै सन्तोषी माताको मन्दिर छेवैमा छ, यो होटल । आजभोलि के छ थाहा छैन, उतिबेला यहाँ काम गर्ने अधिकांश नेपाली नै थिए । हामी होटलको बाहिर उभियौं, भिनाजुले भित्र साहुसँग हाम्रो कुरा अगाडि बढाउनुभयो । हामी तीनैजनाको नोकरी त्यहीं पक्का भएछ । ‘लौ केटा हो, नोकरी पक्का भयो । काम कहिलेबाट शुरु गर्छौ ?’ बाहिर आएर भिनाजुले हामीलाई सोध्नुभयो । म खरो मान्छे बोलिहालें ‘शुभकार्यमा किन ढिला, आजैबाट गर्ने । कि के हो केटा हो ?’ साथीहरुलाई सोधें । ‘अघिसम्म रुन्थ्यो, अहिले ठूला कुरा गर्न लाग्यो ।’ साथीहरुले मलाई जिस्क्याए, सम्झिएँ र म लजाएँ । ‘हुन्च आजैबाट गरम्, काँ जानु छ र ?’ साथीहरु बोले । शुरु भो लाहुर अनुभूति । हेल्परको काम, बिहान ११ देखि राति १२ बजेसम्म ड्युटी, दिनको ५० रुपैयाँ भारु तलब, खान बस्न फ्रि….।
शुरुको दिन त यसै बित्यो । अर्को दिनबाट अलिअलि नोकरीको महसुस हुन थाल्यो । छोटु इधर आओ, उधर जाओ, ए करो, वो करो । ओहो ! कति धेरै काम ? निकै व्यस्त, दौडधुप चलिरहने । ग्राहक आए गिलास र पानी दिनुपर्ने, खाएर गएपछि भाँडा उठाउनुपर्ने, टेबल पुछ्नुपर्ने, कालिगढले मागेको चिज तत्कालै पुर्याउनुपर्ने । दिनको १३ घण्टा यही रफ्तार चलिरन्थ्यो । अधिकांश काम आफूले नजानेका हुन्थे । आफूभन्दा पुरानालाई सोध्नपथ्र्यो । कोहीले त सिकाउँथे, कोहीले वास्तै गर्दैन थे त कोही भन्थे– ‘हटो यार तुम काम कर्नेवाले नही हो ।’ नेपालीले पनि पूरै नेपाली भाषा भुले झैं…। तिनै पुराना मध्येको एक थियो, लाले । म जत्रै–जत्रै, म दुब्लो थिएँ तर ऊ चैं छोटोमोटो, चिटिक्क परेको, हेर्दा रिसाहाजस्तो तर राम्रो रै’छ मान्छे । पछि कुराकानीको क्रममा बुझें उसलाई । मैले नजानेका कुरा सिकाउँथ्यो उसले । मैले पनि हरेक कुराहरु उसलाई नै सोध्न थालें । विस्तारै उसको र मेरो घनिष्ठता बढ्दै गयो, सायद उमेर मिल्दोजुल्दो भएर पनि होला । काममा पनि एकअर्कालाई सहयोग गर्न थाल्यौं । बिहानको चियादेखि बेलुकाको खानासम्म सँगै हुनथाल्यो, उसको र मेरो । १२ बजे काम सकेपछि राति २ बजेसम्म घुम्ने साथी पनि त्यही थियो । लखनउका थुप्रै ठाउँ मात्रै हैन, गल्ली–गल्ली उ र म सँगै घुमेका छौं । कहिले राति त कहिले दिउँसो । दिनभरि काम गर्नुपर्ने भएकोले अधिकांश राति नै घुम्थ्यौं ।
लालेले पनि सुनायो । सायद उसले आफ्नो थर बोहरा बताएको थियो, लामो समय भएर होला बिर्सिसकेछु । उसले त्यतिबेला सुनाएका धेरै कुराहरु याद छैनन् मलाई । अछामको लाले पहाडका दुःख बिर्सन लाहुर छिरेको रहेछ । लाहुर पुगेर फर्केका साथीभाइ र गाउँका लाहुरे दाइहरुको कुरा सुनेर चार कक्षा पढ्दा पढ्दै मुगलाने भएको रहेछ ।
लालेले मलाई उसबेला धेरै कुरा सिकायो अनि धेरै कुरा देखायो । पोछा लगाउन सिकायो । टेबल सफा गर्न र जुठाभाँडा उठाउन सिकायो । बिरानी खान सिकायो । यसो ग्राहकसँग टिप्स झार्ने तरिका सिकायो । होटलका लागि तरकारी ल्याउने तरकारी बजार देखायो । ग्रेभी पिसाउने मिल देखायो । नख्खासको चरा बजार र लखनउको चिडिया खाना त्यही लालेले देखाएको हो । अरु के–के, के–के । खासमा लालेले मलाई उतिबेला जीउन सिकायो । कस्तो सबै ठाउँ चिनेको लालले ! अनि सबै कुरा जानेको ! ठूला मान्छेहरुसँग बोल्न पनि जानेको, हिन्दी उस्तै फररर… । यस्तो गतिलो मान्छेसँग संगत गर्न पाउनु मेरा लागि सौभाग्य नै थियो । लखनउको बसाइमा लालेसँगको यात्रा मलाई फापेकै थियो । बिदाको दिन थियो । लाले र म डा. राममनोहर लोहिया पार्कका रुखमुनि बसेर गफिदै थियौं । ‘पढ्न छोडेर किन आ’छौ यार ? बेकार हो ह्याँ, घर जाऊ पढ्नुपर्छ ।’ झण्डै एक महिनाको संगतपछि लालेले मलाई केही सोध्यो र सुझायो पनि । ‘पढ्न छोडेको छैन, पास भएपछि पढ्न जानी हो’– मैले भनें । त्यसदिन हामी दुबैले एकअर्काको यथार्थ कोट्याउने कोसिस गर्यौं । मैले मेरो वृतान्त सुनाएँ…. । लालेले पनि सुनायो । सायद उसले आफ्नो थर बोहरा बताएको थियो, लामो समय भएर होला बिर्सिसकेछु । उसले त्यतिबेला सुनाएका धेरै कुराहरु याद छैनन् मलाई । अछामको लाले पहाडका दुःख बिर्सन लाहुर छिरेको रहेछ । लाहुर पुगेर फर्केका साथीभाइ र गाउँका लाहुरे दाइहरुको कुरा सुनेर चार कक्षा पढ्दा पढ्दै मुगलाने भएको रहेछ । लालेले धेरै पढेको रहेनछ तर धेरै जानिसकेको छ । लालेले आफू सानै उमेरमा लाहुर आउँदा भोगेका पीडाहरु सुनायो, लाहुरमा नेपालीले नै नेपालीलाई गर्ने व्यवहाहरु सुनायो, आफू यहाँसम्म आइपुग्दा गरेको संघर्ष सुनायो, मैले सुनिरहें….. । वा…. क्या कथा छ यार, लालेको ! म १० सम्म पढेको मान्छे क्यै जान्दिन, ऊ चार पढेको मान्छे सबै जानेको छ । केही जान्नका लागि पढ्नैपर्छ भन्ने रहेनछ । ऊ बोलिरहेकै थियो, मेरो दिमागमा ऊ बोलेका कुराहरुको शब्दचित्र फिलिम झैं चलिरहेकै थियो । ‘चाय लेलो, समोसे लेलो….।’ एउटा हातमा किट्ली र अर्को हातमा टोकरी बोकेको कालो मोटो मान्छे हामी बसेको ठाउँमा आयो । ‘कैसे देएरहे हो भाइ ?’ लालेले सोध्यो । ‘दो के समोसे, दो के चाय ।’ त्यो हाँडीघोप्टे बोल्यो । ‘ठीक है, चार समोसे और दो चाय देदो…।’ लालेले चोर गोजामा हात हालेर दश रुप्पे निकाल्यो र सोध्यो मलाई– ‘दुई रुप्पे छ, तिमीसित ?’ मैले दुई रुप्पे निकाले दिएँ…। चियावाल बाटो लाग्यो । हामी पेट पूजातिर……।
भिनाजु पनि हामीले काम गर्ने होटलमा वेयटरको काम गर्नु‘हुन्थ्यो । काम विशेषले उहाँलाई एक महिनामै घर फर्कनुपर्ने भएछ । दिउँसोतिर मलाई भन्नुभयो– ‘पर्सी बेल्का म घर हिंड्ने हुँ, केही सामान पठाउने भए किनेस् ।’ हुन्छ भनें । ओहो ! घरमा के पठाइदिने होला ? पैसा धेरै छैन, अलिअलि पैसा पनि पठाउने होला ? सोचमा परें, खासै निद्रा परेन । अर्को दिन बिहान लालेलाई लिएर बजार पुगें र सामान किनें । बुवालाई कमिज, आमालाई बर्की र चप्पल अनि भाइहरुलाई जाँगे र भेष्ट…..। सामान लिएर होटल फर्किएँ । अनि शुरु भयो उही दिनचर्या । राति काम सकेपछि सधैं झैं घुम्न गइन आज, पाँच रुप्पेको कापी र एउटा फिलिम पेन किनें र चिठ्ठी लेख्न बसें । लेखें– ‘श्री छ श्री पूजनीय बुवाआमामा सास्टांग दण्डवत्, भाइहरुलाई माया, छरछिमेकीहरुलाई सम्झेको छ भन्दिनुहोला । यहाँ म निका आरामै छु, त्यहाँ तपाइँहरु पनि निका आरामै हुनुहोला भन्ने उनै पशुपतिनाथसँग प्रार्थना गरेको छु……..।’ आज पनि कहिलेकाहीं मैले लाहुरबाट पठाएको यो चिठ्ठी हेर्छु र मुस्कुराउँछु । अर्को दिन दिउँसो भिनाजु बस्ने कोठासम्म पुगें । चिठ्ठी, सामान अनि एक महिनाको कमाइ बुझाएँ र फर्किएँ…..।
महिनाको अन्तिम सोमबार बाहेक अघिपछि बिदा हुँदैनथ्यो । सधैं काममा घोटिनुपर्ने १३/१४ घण्टा अनि आज अलिक थकित जस्तो महसुस गरें । लालेलाई भनें– ‘आज घुम्न नजाम है…..।’ उसले मान्यो । ऊ र म सँगै सुत्थ्यौं, आज उसले नै टेबल जोड्यो र विस्तरा लगायो, जो मैले सधैं गर्थें । ‘ल धौ भएको भए सुतम् त ।’ लालेले मलाई आग्रह गर्यो । ‘तिमी र म भेट भएको एक महिनापछि आज घुम्न नगइकन सुत्ने भइयो नि ?’ लालेले फेरि मसँग सोध्यो । ‘अँ के, आज मलाई अर्कै भएको छ, जीउ सन्चो छैन यार । त्यही भएर हो, भोलिबाट जाम्ला नि’– मैले भनें । कुराकानी चल्दै थिए, कतिबेला निदाइएछ पत्तै भएन….। लाले र मेरो मित्रता प्रगाढ नै थियो तर समय सधैं एकनासै कहाँ चल्दो रै’छ र ? एक दिन बिहानैको कुरा हो, म दिनभरिका लागि चाहिने सलाद काट्नमै व्यस्त थें । अर्को केही काम लिएर लाले मेरो छेउमा आइपुग्यो । अनि भन्यो– ‘अलि पर सर न ।’ ‘यहाँ अलि बन्दैन उता बसेर गरन’ मैले जवाफ दिएँ । आज लालेले मसँग अघिपछिभन्दा अलिक फरक व्यवहार देखायो ! म दंग परें । उसले मलाई केही दिन अघि एउटा नेपालीले नेपालीलाई नै गर्ने शोषणको कथा सुनाएको थियो, ठीक त्यस्तै व्यवहार गर्यो । मैले सहिन, उसको र मेरो केहीबेर भनाभन भयो । तँ तँ, म म नै चल्यो । उसले मलाई हिन्दीमा बाआमासहितका गाली गर्यो । म बुझ्थें तर धेरै बोल्न जान्दैनथें । मैले उसलाई यत्ति आग्रह गरें– ‘माँ बापकी गाली मत दे ।’ उसले भन्यो– ‘क्या करलेगा रे ।’ सायद यसो गर्नु गल्ती थियो होला तर मैले हात उठाएँ । ऊ कम थिएन, मभन्दा अझ बलियो थियो, किन पो रोकिन्थ्यो ? केही बेर कुस्ती चल्यो । होटलमा खाना खान आएका ग्राहकहरु कुस्ती हेरेर फर्किए । अन्य स्टापहरुले हाम्लाई छुट्याए, रिसले चुर परेको साहुले लाले र मेरा गालामा आफ्नो आक्रोश बजार्यो । अरु स्टापहरु केहीले गाली गरे, केहीले सम्झाए….। केही बेरपछि वातावरण शान्त त भयो तर मेरो मनभित्रको आक्रोश अझै कम भएको छैन । लाले पनि मलाई खाउँला झैं गरी हेर्छ । मित्रताको डोरी चुँडिन धेरै ठूलो कुरा चाहिदो रहेनछ । न त धेरै समय नै नलाग्दो रहेछ । केहीबेर अघिसम्मको साथी लाले अब मेरा लागि दुश्मन भयो । उसको अनुहार देख्दै रिस उठ्न थाल्यो । योसँग कसरी बदला लिने म सोच्नथालें…..।
केही बेरपछि वातावरण शान्त त भयो तर मेरो मनभित्रको आक्रोश अझै कम भएको छैन । लाले पनि मलाई खाउँला झैं गरी हेर्छ । मित्रताको डोरी चुँडिन धेरै ठूलो कुरा चाहिदो रहेनछ । न त धेरै समय नै नलाग्दो रहेछ । केहीबेर अघिसम्मको साथी लाले अब मेरा लागि दुश्मन भयो । उसको अनुहार देख्दै रिस उठ्न थाल्यो । योसँग कसरी बदला लिने म सोच्नथालें…..।
कामको सन्दर्भमा आजको दिन पनि उसै गरी चल्यो । मात्रै अघिका दिनमा झैं लाले र म जिस्किएनौं, उसले र मैले सँगै खाना खाएनौं । आज लालेसँगै ट्वाइलेट गइएन अनि लालेलाई मैले केही सोधिन र उसले पनि मलाई केही सिकाएन । आज राति पनि घुम्न गएनौं । लाले पनि त्यहीं थियो, सायद ऊ पनि गएन । २ बजे मैले मेरो लागि मात्रै विस्तरा लगाएँ र पल्टिएँ, उसलाई बोलाइन । ऊ कहाँ सुत्यो मलाई थाहा भएन । मैले रातभरि पनि सोचिरहें योसँग कसरी बदला लिउँ….कतिबेला निदाएछु पत्तै भएन । ‘ओए, उठ अब…।’ अर्कोदिन बिहान ९ बजे कसैले बोलायो । आँखा खोलें लालेले होटलको सफाइ गर्दै रहेछ । एक हातले वाइफर समाएर अर्को हातले कोट्याउँदै थियो, मलाई । अनि भन्यो– ‘म यत्ति पोछा लगाइसक्छु अनि चिया खान जाम्ला ।’ मैले उसलाई कुनै जवाफ दिइन । मलाई अब उसँग केही गर्नु छैन, मात्र बदला लिनु छ । जुरुक्क उठें, विस्तरा राखें अनि नजिकैको पार्कतिर लागें । ऊ मलाई हेरिरहेको थियो तर मैले उतिर हेरिन । म पार्कको एक रुखमुनि बसें, जहाँ उ र म प्रायः बस्थ्यौं । मनमा अनेक कुरा खेल्नथाले ! हिजो त्यत्रो लडाइँ गरेको मान्छे, आज उठाउन आयो, मीठो गरी बोल्दैछ, अझ सँगै चिया खान जाने कुरा गर्छ । यस्तै–यस्तै मनमा धेरै कुरा खेले । यहाँसम्म आइपुग्दा आधा आवेग त मेरो पनि कम भइसकेको थियो । ११ बजे म होटल पुगें । लाले पनि त्यहीं थियो । ‘मण्डी जाम्’– उज्यालो अनुहार, हँसिलो मुद्रामा उसले मलाई आग्रह गर्यो । यस पटक मैले उतिर हेरें । उसको अनुहारमा मित्रताको भाव उस्तै देखिन्थ्यो, पहिलाको जस्तै । यद्यपि मैले भनें ‘म जान्न ।’ उसले मलाई पछाडिबाट जुरुक्क उचाल्यो र भन्यो– ‘तिमी मसँग रिसाया छौ क्या हो यार ? यस्तो त भइरन्छ के, रिस्सिन हुन्न । हिजोको कुरा सक्क्यो, जाम् हिंड मण्डी ।’ उसले मेरो हात समाएर डोर्यायो र रिक्सामा बसाल्यो । अनि रिक्सावालालाई भन्यो– ‘चल भाइ मण्डी….।’ रिक्सामा पनि म उसँग बोलेको छैन तर लालेका व्यवहारले पिलोबाट खिल निकाले झैं मेरो मनबाट बदलाको खिल निकालिदियो । निकै हल्का महसुस भयो अनि लालेप्रति उस्तै, पहिलेजस्तै प्रेमभाव जागृत भयो, लालेको माया लाग्न थाल्यो…..।
घरको करेसामा छु, प्लाष्टिकको कुर्सी, हातमा एउटा किताब, चोर औंला किताबको ११ पेजमा छ, बुढी औंलाले अगाडि र बाँकी तीन औंलाले किताबको पछाडि च्यापेको छु । अनि सोचमग्न छु, तिनै शब्दहरु जसले मलाई विगत सम्झन बाध्य पारे, लेखिएको थियो– ‘जेसुकै कारणले होस्, कसैलाई आफ्नो दुश्मन ठान्नुभएको छ ? यदि छ भने, उसको प्रगतिमा बधाई दिनुस्, ऊ पीडामा छ भने सहयोग गर्नुस्, यदि ऊ कतै जाँदै गरेको देख्नुभयो भने, के छ खबर ? कहाँसम्म हो ? भनेर सोध्नुस् । हो यसो गर्न निकै गाह्रो हुन्छ तर गरेर हेर्नुस् । जीवनमा छुट्टैखाले आनन्दको अनुभूति गर्नुहुनेछ ।’ त्यतिबेला एउटा १५/१६ वर्षको किशोर जसले ४ कक्षा मात्रै पढेको थियो उसैले व्यवहारिकरुपमै गरेर देखाएको कुरा आज म १४ वर्षपछि किताबमा पढ्दैछु ! बदलाको भाव बोकेर अघि बढेका धेरै पढेलेखेका मान्छे म आफैले भेट्छु आजभोलि । ओहो ! पढ्नु र ज्ञानी हुनु फरक कुरा पो रहेछ । मलाई लाग्थ्यो पढेकाहरु सबै ज्ञानी हुन्छन् अनि नपढेकाहरु अज्ञानी ! म गलत रहेछु । ‘मनमनै भनें लाले मेरो यार, तँप्रति आज निकै प्रेमभाव जागेको छ ।’ अनि सोचें साँच्चै त्यतिबेला लालेलाई कति आनन्द मिले होला…..? ‘चिया खान पनि खोज्नुपर्ने, आफ्नो काम कति छ ह्याँ !’ गनगन गर्दै जीवनसाथी लक्ष्मी हातमा चियाको गिलास लिएर नजिकै आइपुगी र हाँस्दै भनी– ‘के हो यस्तो ताल ? एकान्तमा आएर बस्नी अनि टोलाउनी, चालामाला ठीक छैन नि ?’ ‘धत् पागल…..।’ म लजाएँ……..।


