
दाङ, २६ असोज ।
चारैतिर दशैँको रौनक छ । घरदेशदेखि प्रदेशमा रहेकाहरु घर फर्किन थालेका छन् । गाउँदेखि शहरमा दशैँको तयारी चल्दै छ । हुने खाने वर्गहरु दशैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर सुनिता बिक र उनको घरमा दशैँ आएको कुनै महशुस नै छैन् । श्रीमानको मृत्यु भइसकेको छ ।
छोरा साथमा छैनन् । दुई छोराछोरी छोडेर बुहारी पनि अन्तै बिहे गरेर गइसकेके छन् । तुलसीपुर-६ कि सुनितालाई भने हरेक वर्ष झैँ यसपाली पनि दशैँलाई कसरी विदाई गर्ने भन्ने पिर छ । ज्यान पाल्ने समस्या भइरहेको समयमा दशैँ तिहारजस्ता ठुला चाडपर्व आउँदा झन बढी समस्याले सताउने गरेको छ उनलाई ।
तर पनि उनले हरेश खाएकी छैनन् । ‘साथमा कमाउने कोहि नभएपनि जसोतसो दैनिकी चलेको छ ।’ उनले भनिन्-‘अरुबेला भन्दा चाडपर्वमा बढी समस्या हुने गरेको छ ।’ उमेरले करिब ६ दशक पुरा गरिसकेकी सुनिताले चाडपर्व आउँदा बढी समस्या हुने गरेको बताइन् ।
सल्यानबाट करिब तीन दशक अघि बसाई सरेर तुलसीपुरमा आएकी उनीसंग अहिले आफ्नो नाममा जग्गा पनि छैन् । खान समेत समस्या भइरहेको समयमा कोठाभाडा बुझाउन समस्या हुने गरेको उनले बताइन् ।
प्रकाश नेपाली तुलसीपुरको एक गोदाममा रोजगारी गर्छन् । उनले गोदामबाट दैनिक ४ सय आम्दानी गर्छन् । तर रोजगारीबाट उनी सन्तुष्ट छैनन् । अन्य समयमा दैनिकी चलाउन समस्या नभएपनि दशैतिहार जस्ता चाडपर्व आउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता उनलाई हुन्छ । ‘रोजगारी गरेको कमाईले दशैँ खर्च जुटाउन समस्या हुन्छ ।’
उनले भने-‘दशैँ आउँदा अरु खुशी हुन्छन् तर हामीलाई भने चिन्ता हुन्छ ।’ दुई छोराछोरीसहित चार जनाको परिवारलाई अरु समयमा पनि दैनिकी चलाउन समस्या हुने गरेको उनको भनाई छ । ‘अरु समयमा खर्च जसोतसो गरेर चलाउने गरेको छु ।’ उनले भने-‘यसपाली झनै कोरोना महामारीले झनै समस्या पारेको छ, ।’
तुलसीपुर-१६ रत्गैँका रन्जना बिक उमेरले १५ वर्षको मात्रै भइन् । तर उनी घरको अभिभावक हुन् । केहि समय अघि बुवाको मृत्यु भयो र आमा बिहे गरेर गएपछि उनलाई दशैँ रमाइलो भन्दा पनि सबैभन्दा बढी दुखको पर्व हुने गरेको छ । चाडपर्व आउँदा आफुलाई भन्दा पनि भाइबहिनीलाई खुशी बनाउने जिम्मेवारी उनलाई छ ।
‘मैले भन्दा पनि भाइ बहिनीहरुलाई पनि खुशी बनाउने प्रमुख जिम्मेवारी पाएको छु ।’ उनले भनिन्-‘आम्दानी हुने कुनै बाटो नहुँदा दशैँतिहार जस्ता ठुला चाडपर्व आउँदा बढी समस्या हुने गरेको छ ।’ चारैतिर दशैँको रौनक चलिरहँदा उनलाई भने निराशा बढी हुने गरेको छ । ‘अहिलेसम्म हरेक दशैँले खुशी भन्दापनि समस्या थपेर जाने गरेका छन् ।