तुलसीपुर : यो विद्यालयलाई हतपती तुलसीपुुर उपमहानगरपालिकाको नक्सा सरर्र पल्टाएर भेटाउन सहज छैन । यो स्कुल पुग्नका लागी पनि सय अटोलाई सोध्नु पर्दछ दुरीका हिसावले विहान खानाखाइ साझ घर पुग्दा सायद साँझै पर्दछ । तर यस्तो विद्यालयमा अध्ययन गर्ने सामुदायक विद्यालयका विद्यालयहरुले भने अव्वल नम्वर ल्याएको सुन्दा धेरैलाइ विश्वास नलाग्न सक्दछ ।
तर तुलसीपुर उपमहानरपालिका ३ हर्नेटीस्थित जनता आधारभूत विद्यालयमा कक्षा-कोठा, शिक्षक र शौचालयको अभावका कारण विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा अध्ययन गर्न बाध्य छन् । यदि सहज रुपमा अध्यापन हुने हो भने यो स्कुलका विद्यार्थिहरुले कति उत्कृत नम्वर ल्याउन सक्लान भन्ने स्वयम शिक्षकहरुनै लामो समयदेखि आशावादी छन् ।
उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको विद्यालय भौतिक संरचनाको कमिका कारण आजसम्म पछाडि परेको छ । कक्षा कोठा अभावमा कक्षा ६ र ७ का विद्यार्थीहरु पुरानो जीर्ण भवनमा पढ्न बाध्य छन् । पानी परेको बेला कक्षा कोठा मै पानी आउने र भित्ता पनि जीर्ण हुँदा निकै डर लाग्ने विद्यार्थीहरुको भनाइ छ । कक्षा कोठा मात्र नभइ शिक्षकको अभाव, खेल मैदान, शौचालयको पनि समस्या रहेको कक्षा ८ मा अध्ययनरत मुकेश खत्रीले बताए ।
उनले भने,‘ हामी विद्यार्थीहरुले धेरै समस्या भोग्दै आएका छौँ । यहाँ न विषयगत शिक्षकहरु हुनुहन्छ, न यहाँ खेल्नको लागि मैदान र सामाग्री नै छन् । घरबाट विद्यालय आउन मलाई करिब एक घण्टा लाग्छ । कक्षा कोठाहरु पनि जीर्ण अवस्था रहेका छन् ।’ यस्तै अर्की विद्यार्थी खुमा वलीले पनि आफूहरुले धेरै समस्या भोग्ने गरेको बताइन् । उनका अनुसार जीर्ण कोठाहरु हुँदा कति बेला भत्केला भन्न डर रहन्छ । यस्तै दुई वटा त्यो पनि पुराना शौचालय हुँदा समेत पालो कुर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
विकट ठाउँ विद्यालय भएका कारण हुनसक्छ, आफूहरु यस्तै विद्यालयमा पढ्न बाध्य भएको भन्दै उनले अब कक्षा ८ पछि की सल्यानको कपुरकोट वा तुलसीपुर-४ रक्षाचौर जानु पर्ने बाध्यता रहेको पनि बताइन् । उनले भनिन्,‘ यो गाउँको विद्यालयमा आउन त हामीलाई एक घन्टा हिड्नुपर्छ, अब कक्षा ८ पास गरेपछि कि सल्यानको कपुरकोट कि रक्षाचौर जानु पर्छ । त्यहाँ जानको लागि कि दैनिक गाडीमा की भने कोठा लिएर बस्नुपर्छ । ’
२०४६ सालमा स्थापना भएको विद्यालयले परिक्षामा उत्कृष्ट नतिजा ल्याएर सम्मानित तथा पुरस्कार पाउँदै आइरहेको भएता पनि विद्यालय विकट क्षेत्रमा भएको हुँदा सबैको नजर कम पर्ने विद्यालयका पूर्व प्रधानध्यापक कमलराज थापाले बताए । उनका अनुसार जहाँ सेवा सुविधा छ, सबैको नजर पनि उतै तिर पर्ने गर्दछ ।
विद्यालय स्थापना भएदेखि आफूले यो विद्यालयमा पढाउँदै आएको भन्दै उनले विगत देखि नै यस्तै समस्या भोग्दै आइरहेको बताए । उनले भने,‘ प्रावि तहमा पढाइ हुँदा पनि यो विद्यालय नगर मै उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो । अहिले पनि कक्षा ८ पनि उत्कृष्ट नतिजा ल्याउने गरेको छ । पटक पटक विभिन्न समस्याका बाबजुद पनि पुस्कृत तथा सम्मानित हुँदै आएको छ ।’ यस विद्यालयको समस्या बारेमा नगर प्रमुख, वडाध्यक्ष, शिक्षा प्रमुखलाई पनि अवगत गराउँदै आइरहेको उनको भनाइ छ
विद्यालयमा हाल १२५ जना विद्यार्थी र विद्यालय सहयोगी सहित ११ जना शिक्षकहरु छन्, तर दरबन्दीअनुसार शिक्षक नपुगेका कारण पठन–पाठन प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक सुवर्ण कुमार लामिछानेले बताए । उनका अनुसार विद्यालयमा नयाँ भवन निर्माण भएपनि पूर्ण रुपमा सम्पन्न नहुँदा कक्षा कोठाको अभाव रहेको छ ।
यस्तै विद्यालयको आफ्नो नाममा श्रेस्ता जग्गा नभएको र ऐलानी जग्गामा विद्यालय रहेको समेत उनले बताए । उनका अनुसार विद्यालयमा शैक्षिक सामाग्रीहरु पनि अभाव रहेको र विद्यालयको कुनै आयस्रोत पनि छैन् । उनले भने,‘विद्यालय विटक ठाउँ भएको हुँदा यस ठाउँमा बस्तीहरु पनि खासै छैनन् । जति विद्यार्थीहरु छन्, त्यहि अनुसार बस्ती छ । यो भन्दा बढि विद्यार्थीहरु बढ्ने ठाउँ नै छैन् । ’
विद्यालयमा निमावि दरबन्दी एक जना रहेको अरु सबै प्राविको दरबन्दी रहेको उनले बताए । विद्यालयमा प्रदेश सरकारको बजेटबाट नयाँ ४ कोठाको भवन निर्माण भएपनि त्यो पूर्ण रुपमा निर्माण नहुँदा २ वटा कक्षाका विद्यार्थीहरु पुरानो जीर्ण भवनमा पढाउन बाध्य भएको उनको भनाइ छ । यस पटक उपमहानगरले यो भवन निर्माण सम्पन्न हुने जानकारी दिएको भन्दै उनले यो निर्माण भए केहि सहज हुने समेत बताए ।
विकट क्षेत्रमा रहेका विद्यालयहरु भौतिक निर्माणको काम उपमहानगरले गर्दै आइरहेको र हर्नेटीमा पनि ४ कोठाको पक्की भवन निर्माण गरेको बाँकी केहि काम रहेको हुँदा त्यसलाई सम्पन्न गर्न तयारी रहेको उपमहानरका मेयर टिकाराम खड्काले बताए । राप्ती राजमार्ग नजिकै अप्ठेरो ठाउँमा विद्यालय रहेको समेत उनले बताए ।
उपमहानगरका विटक ठाउँमा विभिन्न समस्यामा विद्यालयहरु रहेको भन्दै उनले विद्यालय सुधारको लागि भौतिक निर्माण गर्न ५० लाख बजेट छुट्टाएको पनि बताए । यस्तै संघीय सरकारसँगको साझेदारीमा ४/५ करोडको भवन निर्माण गर्ने काम भएको भन्दै गत बर्ष १६ वटा विद्यालयको भवन बनाएको उनले बताए । अहिले पनि ४ वटा भवन निर्माण कार्य भइरहेको बताए ।


