घोराही । राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयको वार्षिक तथा योजना तर्जुमा गोष्ठि दाङको घोराहीमा सम्पन्न भएको छ ।
जनप्रतिनिधि तथा स्वास्थ्य संवद्ध क्षेत्रका उच्च पदस्त कर्मचारीहरुले आयुर्वेद चिकित्साको महत्वका विषयमा हरेक स्वास्थ्यका कार्यक्रमहरुमा प्रवचन दिइरहन्छन् । पछिल्लो समयमा सर्ने रोगको भन्दा नसर्ने रोगको अवस्था भयावह भएको र यसले राज्यको ठुलो धनरासी खर्च भएको भन्दै वक्तव्य र मन्तव्य दिइरहन्छन् । तर व्यवहारमा भने आयुर्वेद चिकित्सा क्षेत्र ओझेलमा परेको छ । राप्ती आयुर्वेद चिकित्सालय दोघरेको आयोजनामा बुधवार भएको जिल्लास्थीत आयुर्वेद स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा तथा भावि रणनिति विषयको कार्यक्रममा यस्तै झल्को देखियो ।
विश्वभर आयुर्वेद चिकित्साको व्यापक प्रचार प्रसार र प्रयोग बढिरहंदा दाङको आयुर्वेद स्वास्थ्य संस्थामा विरामीलाइ निशुल्क ओखती पु¥याउनै मस्कील छ । जिल्लाका हरेक पालिकामा दश÷पन्ध्र वेडको अस्पताल निर्माण गर्न करोडौं रुपैया खर्च भैरहंदा जिल्लाभरीका स्वास्थ्य संस्थाहरुको बार्षिक बजेट आधा करोड रुपैया पनि छैन । सरकारले आयुर्वेद स्वास्थ्य सेवालाइ आधारभुत स्वास्थ्य सेवाका रुपमा परीभाषित गरेपनि यसलाइ व्यवहारमा उतार्न नत संघिय सरकार बजेट र कार्यक्रम दिन उदार देखिन्छ, नत प्रदेश सरकार र स्थानिय सरकारनै आयुर्वेद चिकित्साको विकाश र सदृढिकरणमा गम्भीर देखिएका छन् ।

अहिले जिल्लाभर तुलसीपुरमा राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीमा प्रादेशिक आयुर्वेद चिकित्सालय, गढवामा एउटा आयुर्वेद औषधालय र राजपुरमा दुइ वटा आयुर्वेद औषधालयहरु सन्चालनमा छन् । तर त्यहां विनियोजित हुने बजेटले कर्मचारीले तलव खाने र केहि ओखती वितरण गर्ने शिवाय केहि औचित्यपुर्ण योगदान आयुर्वेद चिकित्सा क्षेत्रमा गर्न सकेका छैनन् । औषधालय र चिकित्सालयहरुलाइ दिइएको औषधि किन्ने बजेटले आधा बर्ष पनि औषधि नपुग्ने गरेको पनि बार्षिक समिक्षा कार्यक्रममा बताइएको छ ।

यी चिकित्सालय र औषधालय वाहेक अन्य पालिकाहरुमा आयुर्वेद चिकित्साकै सानो इकाइ नागरीक आरोग्य केन्द्र सन्चालनमा छन्, तर ती संस्थाहरु पनि नाम मात्रका छन् । न त्यी संस्थालाइ चलायमान बनाउन सरकारले आवस्यक कार्यक्रम दिन्छन्, नत आवस्यक बजेटनै । केन्द्र खोलेर दिन कटाउने वाहेक उत्कृष्ठ क्रियाकलाप नागरीक आरोग्य केन्द्रहरुबाट हुन नसकेको गुनासो स्वयम केन्द्रका पदाधिकारीहरुले गरेका छन् । यो बर्ष देखि घोराही उपमहानगरपालिकाले त नागरीक आरोग्य केन्द्र पनि सन्चालनमा चासो देखाएको छैन ।
यस अघि सम्म जिल्ला स्तरीय राप्ती आयुर्वेद चिकित्सालय दोघरेको माताहतमा रहेका नागरीक आरोग्य केन्द्रहरु यो आर्थिक बर्षदेखि स्थानिय सरकारको माताहतमा गएका छन् । ती केन्द्रहरुमा काम गर्ने कर्मचारी प्राविधिकहरुको पारीश्रमिक पनि संबन्धित स्थानिय तहमै गएको छ । तर घोराही उपमहानगरपालिकाको नागरीक आरोग्य केन्द्रका कर्मचारी प्राविधिकहरुले तीन महिनादेखि मासिक पारीश्रमिक पनि पाएका छैनन् । घोराही उपमहानगरपालिकाले यसमा प्रदेश सरकारको सहयोग नलिने मनसाय देखाएपछि यहांको नागरीक आरोग्य केन्द्र अलपत्र पर्न सक्ने समिक्षा कार्यक्रममा राप्ती प्रादेशिक चिकित्सालय दोघरेका प्रमुख डा.मदन विसिले समिक्षा कार्यक्रममा जानकारी दिएका छन् ।
आयुर्वेद चिकित्सा क्योरेटिभ भन्दा पनि प्रिभेन्टिभ हो भन्ने जानकारी सवै नागरीकहरुलाइ छ । रोगको निदान गर्नुमा भन्दा पनि आयुर्वेद निरोगीताको गन्तव्य पछ्याउछ । यसकालागी आहार विहार, खानपान, योग अभ्यास लगायतका थुप्रै कार्यक्रम हुन्छन् । खानपानको समुचित व्यवस्थापनको अभाव संगै समाजमा मौलाउदै गएको अल्छिपनाका कारण मानव शरीरमा उच्च रक्तचाप, मधुमेय, थाइराइड, हाडजोर्नीको समस्या लगायतका थुप्रै नसर्ने रोगहरुको अवस्था भयावह भैरहेको छ । प्राणघातक क्यान्सर रोग पनि यस्तै आहार विहार र नियमित योग अभ्याससंग जोडिएको हुन्छ । राज्यले नसर्ने रोगको उपचार गर्न अरबौं रुपैया खर्च गर्नु परेको छ । तर नागरीकलाइ नसर्ने रोगबाट मुक्त बनाउने आयुर्वेद चिकित्सामा लगानी भने नगन्य देखिएको छ । यसले विश्वास जित्दै गएका आयुर्वेद संस्था पनि मृत्यु शैयामा छटपटाउने अवस्थामा रहेको नागरीक अगुवाहरु बताउछन् ।

यस्तै यस्तै गुनासाबीच झिनो उपस्थीतिमा जिल्लास्थीत आयुर्वेद स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा तथा भावि रणनिति निर्माणसंबन्धि एक दिने कार्यशाला बुधवार घोराहीमा सम्पन्न भएको छ । तुलसीपुरको दोघरेस्थीत राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा मदन विसिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा जिल्लाका दुइ चिकित्सालय, चारवटा औषधालय र ६ वटा नागरीक आरोग्य केन्द्रका प्रतिनिधिहरुको सहभागितामा सो कार्य शाला सम्पन्न भएको हो ।
कार्यशालामा प्रादेशिक आयुर्वेद चिकित्सालयका कार्यवाहक निमित्त निर्देशक अर्जुनराज शर्माले आफ्नो संस्थाको बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । त्यसै अवसरमा राप्ती प्रादेशिक चिकित्सालय तुलसीपुरका प्रमुख डा मदन विसिले पनि बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । चिकित्सालयका वरीष्ठ कविराज विष्णु पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार राकेश बस्नेतले पनि शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण डा कैलाश न्यौपानेले गरेका थिए ।


