नेपाल प्रहरीको एआईजी मनोज केसी

काठमाडौँ । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरीको नेतृत्व दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय भएको बताएका छन्।

केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए। प्रहरी नेतृत्व र सरकारबीचको सम्बन्धमा देखिएको मतभेदपछि सरकारले आईजीपी परिवर्तन गर्ने निर्णय गरेको बताइएको छ।

निर्वाचनका लागि नेपाल प्रहरीले खरिद गर्न लागेको पोशाकका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रश्न उठाएपछि विवाद सार्वजनिक रूपमा चर्किएको थियो। त्यसपछि प्रहरीभित्रको आन्तरिक मतभेदसँगै सरकार र तत्कालीन आईजीपी कार्कीबीच पनि दूरी बढ्दै गएको थियो।

विवादका क्रममा कार्कीको नाम विभिन्न व्यक्तिसँगको सम्पर्कका विषयमा समेत सार्वजनिक चर्चा भएको थियो। यद्यपि, यस विषयमा सम्बन्धित पक्षबाट थप स्पष्ट प्रतिक्रिया आउन बाँकी छ।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। नवनियुक्त आईजीपी केसीसामु प्रहरी संगठनभित्रको एकता कायम गर्दै सुरक्षा व्यवस्थापन र जनविश्वास बलियो बनाउने चुनौती रहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस