तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ।

महाशाखाका अनुसार प्रतिव्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान खरिद गर्न पाउनेछन्। यसैगरी १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बढीमा दुई थानसम्म बिक्री गरिनेछ।

असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

खरिद गर्न चाहने व्यक्ति नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।

असर्फी र मेडालियनको मूल्य दैनिक रूपमा निर्धारण हुने भएकाले बिहान करिब ११ बजेपछि मूल्य तय भएपछि मात्र बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ। तिहारका अवसरमा सीमित मौज्दातमा बिक्री गरिने भएकाले खरिद गर्न चाहनेले तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस