काठमाडौँ । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको स्वास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो । इलाममा रहेका केसीका सहयोगी पवन थापाले थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाइएको जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।
टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे नै उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।


