सल्यानमा जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, ७ जना घाइते

सल्यान । सल्यानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सिद्धकुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए। दुर्घटनामा परी ७ जना घाइते भएका छन्।

घाइते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक, सोही वडाकी ५८ वर्षीया सुशीला चलाउने, १५ वर्षीय कमल बुढाथोकी, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १० वर्षीय युवराज परियार र सिद्धकुमाख–३ की ७ वर्षीया विमला बुढाथोकी छन्।

शुक्रबार बेलुकी साढे ६ बजेतिर जिल्लाको सिद्धकुमाख–२ रातामाटे खोलाबाट लु.१ ज २३६८ नम्बरको जिप सडकबाट झन्डै १५० मिटरमुनि खसेको थियो। श्रीनगरबाट टाकुरा गाउँ जाने भित्री कच्ची सडकखण्डमा जाँदै गरेको जिप दुर्घटनामा परेको थियो।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार घाइतेमध्ये देवहादुर विक र सुशीला चलाउनेलाई दाङका लागि रिफर गरिएको छ। त्यस्तै, कमल बुढाथोकी, विमला बुढाथोकी र युवराज परियारलाई बाँकेको नेपालगन्जका लागि रिफर गरिएको छ। अन्य घाइतेको सल्यानमै उपचार भइरहेको छ।

गाडी चालक प्रहरी नियन्त्रणमा छन्। चालकले पानी परेका कारण उकालोमा जिप चिप्लिएर खसेको प्रहरीसमक्ष बयान दिएका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस