तिहारमा सिन्कामारी बेच्न भ्याइनभ्याइ

लमही । लमही नगरपालिका–५ कोलहीमा बस्दै आएकी वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त छिन्। उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताइन्।

गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आएका उनलाई विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी बेच्न आजभोलि भ्याइनभ्याइ भएको छ । उनले बनाएको सिन्कामारी अहिले लमही बजारसँगै नजिकका गाउँहरुमा बिक्री हुने गरेको छ । उनले धेरैजसो घरबाट नै बिक्री गर्दै आएका छन् । तिहारको समय र बिहेको सिजनमा बढी बिक्री हुने गरेको उनको भनाइ रहेको छ ।

उनलाई सिन्कामारी रोटी उत्पादनमा श्रीमान्ले पनि साथ दिन्छन् । “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उनले भनिन्, “तिहारलाई लक्षित गरेर गरेको यो व्यवसायले अघि पछि पनि राम्रो आम्दानी दिएको उनी बताउछिन् । उनले तिहारको समयमा मात्रै रु डेढ, दुई लाखको बिक्री गर्ने गरेको बताइन् ।” उनले अघिपछि पनि मागअनुसार उत्पादन गरेर बिक्री गर्दै आएकी छिन् । थोरै सधैँ स्टक राख्ने पनि गरेको उनले बताइन् । आजभोलि दैनिकजसो उनले रु २० हजार बढीको सिन्कामारी रोटी बिक्री गर्दै आएकी छिन्।

“फुर्सदको समय यत्तिकै बिताउनुभन्दा यो काम गरेपछि आयआर्जन पनि भएको छ,” उनले भनिन्, “सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगको साथै आयआर्जनको अवसर मिलेको छ ।” हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको खपत धेरै हुनेगर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार गर्नेको कमाइ भने राम्रो रहेको उनको अनुभव रहेको छ ।

धेरैजसो ग्राहक घरमै पनि लिन आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । तिहारको समयमा यसको माग पनि राम्रो हुने भएकाले बिक्री गर्न सजह हुने गरेको गिरी बताउछिन् । उनले एक दर्जनलाई थोकमा रु २५० का दरले र होलसेलमा रु ३०० का दरले बिक्री गर्दै आएको सुनाइन् ।

उनीसँगै जिल्लामा पछिल्लो समय तिहारलाई लक्षित गरेर सिन्कामारी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । यसका कारण यामको व्यापारले घरको आर्थिक पार्जनमा समेत थप टेवा पुग्ने गरेको उनको अनुभव रहेको छ । रासस

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस