अटिजमको पीडालाई पर्दामा उतारेका अरुण, ‘गौँथली’बाट दर्शकको मन जित्दै

दाङ । अभिनय केवल संवाद बोल्ने कला होइन, पात्रको जीवन बाँच्ने क्षमता पनि हो। यही क्षमताको प्रभावशाली उदाहरण बनेका छन् घोराही उपमहानगरपालिका–१८ निवासी गोपाल वेलबासे क्षेत्रीका छोरा अरुण क्षेत्री। उनले अभिनीत नेपाली कथानक चलचित्र ‘गौँथली’ प्रदर्शनसँगै दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

चलचित्रमा अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन्। चुनौतीपूर्ण र संवेदनशील पात्रलाई स्वाभाविक रूपमा प्रस्तुत गर्न सफल भएको भन्दै उनको अभिनयको व्यापक प्रशंसा भइरहेको छ। त्यस्तै, उनकी बुहारीको भूमिकामा देखिएकी सिम्रन खड्काले पनि संयमित र भावपूर्ण अभिनयमार्फत दर्शकको मन जितेकी छन्। दुवै कलाकारबीचको भावनात्मक सम्बन्ध र प्रस्तुतिले चलचित्रलाई थप प्रभावशाली बनाएको समीक्षकहरूको भनाइ छ।

सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ले मनोरञ्जनसँगै समाजमा अटिजमप्रतिको चेतना अभिवृद्धि गर्ने प्रयास गरेको छ। चलचित्रले फरक क्षमता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण, पारिवारिक सम्बन्ध र मानवीय संवेदनाका अनेक पाटालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

डा। कपिल रिजालको निर्देशनमा बनेको चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरीको प्रस्तुतिमा निर्माण गरिएको हो। चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना तथा राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीले पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा। कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताका रूपमा आबद्ध छन्।

डा। भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा। कपिल रिजालले निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेसँगको सहकार्यमा तयार गरेका हुन्। सामाजिक विषयवस्तुलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गर्ने प्रयास चलचित्रभरि देख्न सकिन्छ।

नेपालमा उत्साहजनक प्रतिक्रिया पाइरहेको ‘गौँथली’ अब अन्तर्राष्ट्रिय दर्शकमाझ पनि पुग्ने भएको छ। नेपालमा प्रदर्शन सुरु भएको एक सातापछि अमेरिकाका विभिन्न सहरमा चलचित्र प्रदर्शन गरिने तयारी छ। चलचित्रको अमेरिकी प्रदर्शन अधिकार (अमेरिका राइट्स) सेभेन सिज इन्टरनेसनल फिल्म्सले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

स्वदेशमा मात्र होइन, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि चलचित्रप्रति उत्सुकता बढ्दै गएको छ। सामाजिक चेतना, पारिवारिक संवेदना र सशक्त अभिनयको संयोजनका कारण ‘गौँथली’ नेपाली चलचित्र क्षेत्रमा फरक स्वाद बोकेको सिर्जनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। विशेषगरी अटिजमजस्तो कम चर्चित विषयलाई मुख्य कथावस्तु बनाएर प्रस्तुत गरिनु आफैंमा चलचित्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस