काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ ।
मधेस र कोसी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरेको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान, मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल आज बेलुका र भोलि पनि नेपालभर वर्षा हुने बताउँछन् । “तराईका केही ठाउँमा पानी परे पनि पूर्वी तराईको धेरै ठाउँ सुक्खा नै छ,” उनी फेसबुकमा लेख्छन्, “आज बेलुका र भोलि पनि नेपालभर वर्षा हुने देखिन्छ । पूर्वी तराईका भने केही ठाउँमा मात्रै पानी पर्ला ।”
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।


