तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको दुर्गम बस्ती खुमखानी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । दाङ उपत्यकाका विभिन्न स्थानबाट लेकको टुप्पोमा देखिने दुई वटा रुख र वरपरको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।
दैनिक ४० देखि ८० जनासम्म अवलोकनका लागि पुग्ने यस गाउँको समस्या भने फरक छ । यहाँ पुग्ने बटुवाले गाउँलेसँग एक घुट्की पानीसमेत माग्ने आँट गर्न सक्दैनन् ।
गाउँमा खानेपानीको चरम अभाव छ । स्थानीय बासिन्दाले दुई घण्टासम्म उकालो हिँडेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । गाउँलेको यही कष्टकर जीवन देखेपछि पर्यटकले आफ्नो तिर्खासमेत दबाउने गरेका छन् । दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सरोज घर्तीमगर बिदाको समयमा खुमखानी र दुरुल्ले लेकको अवलोकन गर्न पुगेका थिए ।
गाउँलेले टाढाबाट पानी बोकेर ल्याएको दृश्य देखेपछि आफूले पानी माग्न नसकेको बताए । उनले पानीको अभावले स्थानीयले भोग्नु परेको दुःख देख्दा आफ्नो तिर्खासमेत हराएको अनुभव सुनाए।
तुलसीपुर खरखरेका रमेश ज्ञवालीको अनुभव पनि उस्तै छ । दुरुल्ले लेकबाट सात घण्टा हिँडेर फर्किने व्रmममा खुमखानी पुगेका ज्ञवालीले तिर्खाएका बेला पनि गाउँलेसँग पानी माग्ने आँट गर्न नसकेको बताए ।
उनले स्थानीयले डोकामा गाग्री राखेर पानी बोकेको दुःख देखेर आफ्नो मन भारी भएको बताए । स्थानीय ४५ वर्षका तारा घर्तीका अनुसार पानी अभावले दैनिक जीवन कष्टकर बनेको छ । अर्का स्थानीय ५० वर्षीय कर्णबहादुर घर्तीले २०७२ सालमा सोलार प्रणालीबाट लिफ्टिङ गरी खानेपानीको व्यवस्था गरिएको थियो । गत चैतदेखि मेसिन बिग्रिएपछि २० घरधुरीका बासिन्दा फेरि पानी बोक्न बाध्य भएको बताए ।
पर्यटकीय सम्भावना बढ्दै गएको खुमखानीमा खानेपानीको स्थायी व्यवस्था हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष तुलसी पुनमगरले मर्मतका लागि पालिकासँग बजेट माग गरिएको बताउँदै आगामी कार्यपालिका बैठकबाट बजेट व्यवस्था गरी खानेपानी सञ्चालन गर्ने बताए । उनले त्यस क्षेत्रका लागि चार लाख बजेट भए पनि त्यो बजेटबाट समस्या समाधान हुन नसक्ने भएकाले थप बजेट आवश्यक रहेको बताए । गोरखापत्रबाट


