एमाले वार्ता र संवादबाट भाग्न खोज्यो

काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए ।

त्यस्तै बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

२३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।

नेकपा एमालेको अवरोधका कारण संघीय संसद लगातार अवरुद्ध हुदै आएको छ । प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र छन् ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस