रोकियो हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् ।

जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए ।

‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको छ । यतिबेला हामी अलमलमा छौं । साथीहरुसँग बसेर छलफल गर्छौं र कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्छौं ।’पाँडेले भने ।

२०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।

कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेको यो सिरियलले गत साता सोलुखुम्बुको पतालेमा पुगेर १०० औं भागको खुसी साटेको थियो ।

हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस