काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबार बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमशस् बलियो हुँदै जाने जानकारी गराएको हो ।
कात्तिक ९ गते उक्त प्रणाली चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
उक्त मौसम प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ सम्म नेपालको मौसममा प्रभाव विभागले जनाएको छ ।
यद्यपि, यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।


