काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै स्वकीय सचिवलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका छन्। उनले कोशी प्रदेशबाट झापाकी रोशनीलाई राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाएका हुन्।
आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा उम्मेदवार छनोटको जिम्मा ओलीलाई नै दिएको थियो। सोही अधिकार प्रयोग गर्दै ओलीले आफ्नै सचिवालयमा कार्यरत रहेकी मेचेलाई उम्मेदवार बनाए।
एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।
एमाले, कांग्रेस, नेकपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ।
त्यसमा कोशीबाट रोशनीसहित बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रोशनी मेचे यसअघि ओली प्रधानमन्त्री हुँदा उनको निजी सचिवालयमा स्वकीय सचिव (पीए) को रूपमा कार्यरत थिइन्। ओलीले उनलाई उम्मेदवार बनाउने प्रस्ताव पार्टी सचिवालयबाटै अनुमोदन गराए।
मेचे झापाकी लोपोन्मुख समुदायकी हुन्। उनले समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी छन्। नेतृत्व पक्षले भने समावेशिता र शैक्षिक योग्यतालाई आधार बनाएर उम्मेदवारी अघि बढाइएको दाबी गरिरहेको छ।


