पञ्चभलादमी आफै छान

हाम्रो देशमा सबै काम विदेशीले गरिदिने गरेका छन् । दान अनुदान विदेशीले दिने गर्दछन् । यहाँका नेताले माग्ने हाम्रो हक हो भनि दावी गर्दछन् । काँहाबाट कति माग्ने भनेर लिष्ट बनाएर निर्धक्कका साथ संसदमा बोल्ने गर्दछन् । त्यै पनि हामीले उनीलाई महान र ठुला नेता बनाएका छौ । मागेर सम्पन्न भएको मुलुक विश्वमा कहिँकतै छैनन् त्यै पनि हामि माग्न छोड्दैनौ । यर्थाथमा भन्ने हो भने अनुदानभन्दा ऋण लिनु धेरै गुणा श्रेष्कर छ । ऋण लिनु दिनुलाई स्वभाविकै मान्न सकिन्छ । दान अनुदान पाउनु भनेको निर्वल पक्ष हो । हामीले दान अनुदान मात्र होइन सबै काम अरुले गरिदिनु पर्ने हाम्रो मानसिकताको विकास भएको छ । देशमा भएका हरेक राजनीतिक परिवर्तनमा विदेशी कै भूमिका महत्वपुर्ण हुँदै आएको छ । त्यसैमा हामीले गर्व गरेका छौ । यो कस्तो राष्ट्रिय चरित्र हो ? प्रजातन्त्र विदेशीले ल्याईदिनु पर्ने, विकास गर्ने पैसा, ऋण, अनुदान विदेशीले दिनुपर्ने, युवा रोजगारी विदेशीले जुटाइदिनु पर्ने, छोराछोरी छात्रवृत्तिको नाममा विदेशीले पढाइ दिनुपर्ने । मानवअधिकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालन गरि नेपालको सूक्ष्म व्यवस्थापन पनि विदेशीले गरिदिनु पर्ने ! नेपालका हरेक क्रियाकलाप विदेशीले गरिदिने हो भने हामीले के गर्ने ? सहिछाप गर्ने मात्र नेपालीको काम हो कि मुलुकको समग्र परिवर्तनमा महत्वपूर्ण भूमिका हुन्छ । सधै हाम्रो भूमिका महत्वपूर्ण जस्तो देखिएता पनि यर्थातमा त्यसो नभएको पछिल्लो गतिविधिले प्रष्टाएको छ । निर्वाचन गराउन पनि विदेशीकै भर पर्नु पर्ने । लोकतन्त्रमा आवधिक निर्वाचन नियमित प्रक्रिया हो । स्थानीय तहका पाँच जना पञ्चभलादमी छान्न पनि विदेशीकै मुख ताक्नु पर्ने । निर्वाचनमा उम्मेदवार हुने ब्यक्तिको क्षमता विकासमा पनि एनजिओ, आइएनजिओले सिकाईदिनु पर्ने । निर्वाचनको परिवेक्षण पनि विदेशीले गरिदिनु पर्ने । निर्वाचनको परिवेक्षण सर्भेक्षण सबै अरुले नै गरिदिनु पर्ने ।

२००७ को परिवर्तनदेखि २०६२/२०६३ सालसम्मको परिवर्तनमा विदेशीको भूमिका महत्वपूर्ण देखियो । जति राष्ट्रियताका कुरा गरे पनि २००७ सालको सम्झौतादेखि १२ बुँदे सम्झौता दिल्लीमै भए । नेपालमा प्रजातन्त्र, गणतन्त्र ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको कुरा भारतीय लेखकहरुले अहिले सार्वजनिक गरिरहेका छन् ।

राजनीतिक परिवर्तनदेखि सबै काम विदेशीले गरिदिने हो भने हाम्रा नेताहरुको के काम ? हाम्रा नेताहरुले सधैं जनतालाई गुमराहमा राख्दै ठुलोठुलो स्वरले चिच्याएर जगहसाई गरिरहेका छन् । सबै काम आफैले गरेको हुँ भनि पुष्टि गर्नलाई आफैले आफैलाई ठुलोठुलो माला लगाउन प्रतिस्पर्धा गरिरहेका छन् । नयाँ मठाधिश बनेका छन् । त्यसैमा गौरव गर्ने गरेका छन् । पृथक पृष्ठभूमि भएको हाम्रो मुलुकमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय मिलेर बस्नुको साटो एक्लै भएर अगाडि बढ्ने गलत प्रवृत्ति हावी हुँदै गएको देखिन्छ । सामाजिक अगुवा, बुद्धिजीवीहरु पनि समस्यालाई समाधान गर्नुको साटो संकुचित बन्दै गएका छन् । एकै किसिमको सामाजिक पृष्ठभूमि भएका मानिसहरु पनि विभिन्न धर्म, सांस्कृतिक परम्पराको कारणले विभाजित भएका छन् ।

विश्वका कयौं मुलुकहरुको इतिहास हेर्दा जाति, धर्म, संस्कृतिबीच भएको प्रतिस्पर्धाले जातीय धार्मिक युद्धहरु भएका छन् । नेपालको सन्दर्भमा केही वर्षदेखि जातीय, धार्मिक, सांस्कृतिक विषयमा बहस चलिरहेको छ । यसलाई समयमै व्यवस्थापन गर्न नसकेमा जाति, जनजाति, धर्म, भाषा तथा सांस्कृतिक परम्पराकाबीच समस्या नआउला भन्न सकिदैन । वर्षामा च्याउ उम्रेका जस्तै स्थापित भएका गैरसरकारी संस्थाहरुको काम नै मिलाउनेमा होइन फुटाउनेमा हुन्छ । तसर्थ यसतर्फ राज्यले गम्भीर भएर कहिलै सोचेन । जसको परिणाम जटिल बन्दै गएको छ । जनतामा राष्ट्रको नागरिक हुँ भन्ने भावना विकासित हुनुको साटो कुनै एक जाति, धर्म, सम्प्रदाय अथवा भौगोलिक इकाईको सदस्य हुने धारणाको विकास भएको छ जसको कारण समाज विथोलिन सक्छ । त्यसैले राष्ट्रिय नागरिक हुँ भन्ने भावना समस्त नागरिकलाई जागृत गराउनुको साटो राजनीतिक दलको लगाम लगाएर जनतालाई संकुचित बनाइ रहका छौं ।

अहिले देशको अवस्था अत्यन्तै गम्भीर मोडमा छ । एकै पटक राजनितिक, आर्थिक समस्या देखा परेका छन् । यस्तो जटिल परिस्थितिको सामना गर्दै समस्या समाधान पनि हामी आफैले गर्नु पर्दछ । कसैको मुख ताक्नु हुँदैन तब मात्र परिवर्तन स्थायित्व हुन्छ । राम्रो कामको शुरुवात आफैले गरेमा प्रशंसा योग्य हुन्छ र दीर्घकालीन रहन्छ भन्नेमा सबैको सकारात्मक धारणा बन्न जरुरी छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस