मौनताको शक्ति र सौन्दर्य

नेपाली जनमानसमा एउटा प्रचलित उखान छ— “धेरै बोल्नेको सुद्धि हुँदैन र धेरै खानेको बुद्धि हुँदैन।” धेरै बोल्ने मानिसले कहिलेकाहीँ आफूले बोलेको अर्थ आफैँले पनि बुझ्न सक्दैन। त्यसैले पूर्वीय दर्शनमा मौनतालाई केवल नबोल्नुको अवस्था मात्र नभई आत्मज्ञान, साधना र आध्यात्मिक उन्नतिको शक्तिशाली मार्गका रूपमा लिइएको छ।मौनतामा अद्भुत आध्यात्मिक ऊर्जा हुन्छ।

जब मानिस मौन रहन्छ, शरीर र मनमा विशेष प्रकारको चेतना जागृत हुन्छ, जसले नकारात्मक विचार र विकारहरूलाई हटाउन मद्दत गर्छ। यही कारण ऋषि–महर्षिहरू ध्यान, जप र साधनाका लागि मौन बस्ने गर्दथे। पूर्वीय दर्शनमा मौनतालाई आत्म–साक्षात्कारको सशक्त माध्यम मानिएको छ। मौनता स्वयंलाई बुझ्ने मार्ग हो। धेरै बोल्नेभन्दा कम बोल्ने वा मौन बस्ने व्यक्तिको वाणीमा सत्यता र प्रभाव बढी हुन्छ भन्ने विश्वास गरिन्छ ।

कसैको रिस वा गल्तीमा मौन रहनु महानता हो। मौनताले मनलाई शान्त बनाउँछ र चेतनालाई गहिरो स्तरमा पु¥याउँछ। तर अन्याय, अत्याचार वा गलत कार्य देख्दा मौन रहनु कायरता मानिन्छ। धर्मशास्त्रले पनि आवश्यक समयमा मौन रहनुलाई पाप ठानेको छ। त्यसैले मौनताको अर्थ सधैँ चुप लागेर बस्नु होइन, सही समयमा सही शब्द बोल्न जान्नु पनि हो। राजनीतिमा ओजस्वी भाषण र प्रखर वक्तृत्वलाई शत्तिशाली मानिँदै आएको छ। तर राजनीतिक इतिहासमा शब्दभन्दा बढी मौनतालाई महत्त्व दिएका शासकहरू पनि प्रशस्त भेटिन्छन्, जसले उनीहरूले शान्त स्वभाव, गहिरो चिन्तन र कम बोलाइमार्फत शासन सञ्चालन गरे। उनीहरूको मौनता कमजोरी होइन, आत्मविश्वास र आत्मसंयमको परिचायक थियो।

यस्ता शासकहरूले पर्दा पछाडि बसेर गम्भीर योजना बनाउने र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने कार्यमा विश्वास गर्थे। उनीहरूको मौनताले विपक्षीहरूलाई भय र कौतुहलता पैदा गर्दछ, किनभने मौन शासकको आगामी योजना अनुमान गर्न कठिन हुन्छ। यस्तो गुण भएका शासकहरु भाषण भन्दा परिणामलाई प्राथमिकता दिएको देखिन्छ । उनीहरूको बाणी सार्वजनिक बहसभन्दा कार्यसम्पादनमा रमाउने हुन सक्छ । नेतृत्वको वास्तविक शक्ति आवाजको तीव्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा हुन्छ भन्ने कुरा उनीहरूले स्थापित गरे।

प्रभावशाली शासकहरूले कम बोलेर वा मौन रहेरै दूरगामी निर्णयहरू कार्यान्वयन गरेका उदाहरणहरू धेरै छन्। चीनको आधुनिक आर्थिक रूपान्तरणका संवाहक Deng Xiaoping को प्रसिद्ध भनाइ छ। — “बिरालो कालो होस् वा सेतो, मुसा समात्नुपर्छ।” यसको अर्थ विचारधाराभन्दा परिणाम महत्त्वपूर्ण हुन्छ भन्ने हो।

नेपाली राजनीति लामो समयदेखि विभिन्न विचारधारा र वादमा अल्झिएको देखिन्छ। राजतन्त्र ,प्रजातन्त्र , लोकतन्त्र,हुन्दै गणतन्त्र भएको छ । जुन सुकै व्यवस्था केवल साधन हुन्, साध्य होइनन्। जनताको वास्तविक चाहना सुशासन, आर्थिक विकास र जीवनस्तरमा सकारात्मक परिवर्तन हो। जनताकोलागी महत्वपुर्ण कुरा परिणाम हो ।नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउने काम कति प्रभावकारी ढंगले गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

जबसम्म राज्यका संयन्त्रहरू परिणाममुखी हुँदैनन्, तबसम्म समृद्धिको मार्ग कठिन रहन्छ। त्यसैले नेपालको विकासका लागि व्यवहारिक दृष्टिकोण महत्वपूर्ण हुन्छ ।

धेरै बोल्ने शासकहरू पनि सबै सफल भएका छैनन् । कतिपय अवस्थामा शासकको मौनताले आत्मविश्वास र कार्यप्रतिको दृढता झल्काउँछ। जनताले भाषणको मिठासभन्दा कामको ठोस नतिजा खोजिरहेका छन्।

मौनता केवल उदासीको भाषा होइन। मानिस अत्यन्त ठूलो खुसीमा पनि मौन हुन्छ। धेरै मानिस बोल्न रुचाउँछन्, तर केही व्यक्ति चुपचाप काम गर्न रुचाउँछन्। मनमा रिस, डाह वा ईष्र्या नराखी मौन रूपमा कर्म गर्ने मानिस नै सफलताको शिखरमा पुग्ने गर्छन्। बिभिन्न बिद्धानहरुले यस बिषयमा आ आफनो धारणा प्रस्तुत गरेका छन् । महात्मा गान्धीले भनेका छन्
“मौनता सर्वोत्तम भाषण हो। यदि बोल्नै परे कमभन्दा कम बोल। एक शब्दले काम चल्छ भने दुई शब्द नबोल।”
पञ्चतन्त्रमा लेखिएको छ
“वाचालता विनाशक छ, मौनतामा बढी गुण छ।”
शेक्सपिएरले भनेका छन “जहाँ नदी गहिरो हुन्छ, त्यहाँ जलप्रवाह शान्त र गम्भीर हुन्छ।”

मौनताको भाषा बोलीको भाषाभन्दा धेरै बलवान हुन्छ। आवाज सीमित हुन्छ, मौनता अनन्त हुन्छ। शब्दहरू कहिलेकाहीँ थाक्छन्, तर मौनता अथक यात्राजस्तै निरन्तर रहिरहन्छ। मौनता केवल आध्यात्मिक वा दार्शनिक विषय मात्र होइन, साहित्य, कला, प्रेम र प्रकृतिको गहिरो सौन्दर्य पनि हो।

केही दिनसम्म नबोली बस्दा मानिसले आफ्नै मनभित्र उठ्ने तरंग, पीडा, शान्ति र चेतनालाई अनुभव गर्छ। सच्चा चिन्तन मौनताबाटै जन्मिन्छ।मौनता प्रेमको भाषा पनि हो। दुई प्रेमीबीच कहिलेकाहीँ शब्द आवश्यक हुँदैनन्। आँखाले नै संवाद गर्छन्।

कहिलेकाहीँ मौनता पीडादायी बन्छ। अन्याय सहेर बस्नुपर्दा, मनको पीडा व्यक्त गर्न नसक्दा वा कसैले नबुझ्दा मौनता असह्य हुन सक्छ। त्यसैले मौनताको सही अर्थ र सही प्रयोग महत्त्वपूर्ण हुन्छ।

स्तवमा मौनता एउटा गहिरो चेतना हो। यो केवल नबोल्नु होइन, आफूलाई सुन्ने क्षमता हो। जब मानिस साँच्चै मौन हुन्छ, तब उसले आफ्नै आत्मासँग संवाद गर्न थाल्छ। त्यही मौनताभित्र अनुभूतिको उज्यालो लुकेको हुन्छ।

जहाँ नदी गहिरो हुन्छ, त्यहाँ जलप्रवाह शान्त र गम्भीर हुन्छ। मौनता पनि त्यस्तै हो— गहिरो, प्रकाशमय र अनुभूतिले भरिएको। त्यसैले जीवनको कोलाहल, तनाव र अस्थिरताबीच कहिलेकाहीँ मौनताको शरण लिन आवश्यक हुन्छ। त्यही मौनताभित्र आत्म–प्रकाश, शान्ति र सच्चा अनुभूतिको उज्यालो भेटिन्छ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस