
तुलसीपुर । फोहोर व्यवस्थापनमा सहजताका लागि आहा अभियान तुलसीपुरले डस्टबिन बितरण गरेको छ । तुलसीपुरलाई सुरक्षित र सरसफाइयुक्त सहर बनाउनका लागि आहा अभियान तुलसीपुरले ३ सय ६५ डस्टबिन विभिन्न व्यवसायीलाई वितरण गरेको हो ।
तुलसीपुरको बिरेन्द्र चोकदेखि गुम्राहचोकसम्मका व्यवसायीलाई डस्टबिन वितरण गरिएको आहा अभियान तुलसीपुरका संयोजक दिपक काफ्लेले जानकारी दिए ।

नागरिकमा सरसफाइको सचेतना दिनुका साथै सुन्दर सहर निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका तथा विभिन्न संघ, संस्थाको सहयोगमा डस्टबिन वितरण गरिएको संयोजक काफ्लेले बताए ।
आहा अभियान तुलसीपुरले यसअघि पनि विभिन्न सार्वजनिक स्थानमा सरसफाइ गर्दै आएकोमा पछिल्लो समयमा फेरि नगरलाई सरसफाइयुक्त नगर बनाउनका लागि तुलसीपुरका व्यवसायीलाई फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गरेको हो ।

अभियानले मंगलबार तुलसीपुरमा विभिन्न सरोकारवालाको उपस्थितिमा डस्टबिन वितरण गरेको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यक्तिको सोच सफा हुन सकेमा वातावरणको सरसफाइमा नियम कानुन लगाउनु नपर्ने बताए । नागरिकमा सरसफाइ गर्ने चेतना हुँदाहुँदै पनि फोहोर गर्ने बानी हुँदा सरसफाइमा चुनौति देखिएको उनको भनाई छ ।
तुलसीपुरलाई सफा र सुन्दर सहर बनाउन नागरिकको सहयोग अपरिहार्य भएको भन्दै नगरप्रमुख पाण्डेले आफैले गरेको फोहोर आफैले सफा गर्ने बानीको विकास हुनुपर्नेमा जोड दिए ।

उनले तुलसीपुरको फोहोरलाई मोहरमा परिणत गर्नका लागि नगरले प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । नागरिकले घरबाट उत्पन्न हुने फोहोरलाई गल्ने, नगल्ने र फेरि प्रयोगमा ल्याउन मिल्ने फोहोरलाई अलग अलग व्यवस्थापन गर्न सकेमा फोहोरलाई पनि मोहरमा परिणत गर्न सकिने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्था शाखाका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेले गल्ने फोहोरलाई मोहरमा परिणत गर्नका लागि नगरले तयारी गरिरहेको बताए ।

यस्तै सरसफाइ अभियान्ता बिमल रिजालले तुलसीपुरलाई सुन्दर सहर बनाउनका लागि युवाहरुले थालेको पहल निकै सकारात्मक भएको बताए । अहिले पनि कतिपय युवा खराब संगत अर्थात् गलत बाटोमा लागिरहेको बताउँदै उनले आहा अभियान मार्फत युवाहरु सकारात्मक बाटोमा लागेकोमा प्रशंसा गरे ।
अभियानका संयोजक काफ्लेको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा डष्टबिन वितरण गरिएको हो । अभियानका उपाध्यक्ष झग्गु भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव अर्जुन भट्टराईले गरेका थिए ।
