निजी अस्पतालले खोप केन्द्र सञ्चालन गर्न पाउने

काठमाडौं । मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने बताएको हो ।

यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो ।

सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको भन्दै मेडिकल कलेज तथा निजी अस्पताहरुलाई मन्त्रालयले आह्वान गरेको हो ।

विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस