तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्का रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी १९ जना घाईते भएका छन् । घाईते मध्ये छ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिक आइतबार अपरान्ह चार बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका वडा ४ धनबाङका २२ वर्षीया लक्ष्मी बुढा, गाउँपालिका ३ का ४५ देवा चापागाई, २७ वर्षीय भुपबहादुर थापा, २२ धर्म थापा, उनको छोरा ५ वर्षीय दिपेश थापा, किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, १८ वर्षीया अनिता पुन, वडा १ बस्ने आरति पुन, १९ वर्षीया रमिता बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।