काठमाडौं । यातायात व्यवस्था विभागमा १४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड आइपुगेको छ । फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख कार्ड आपूर्ति गरेको हो ।
विभागमा स्मार्ट कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण बन्द छ । विदेश जानुपर्ने अत्यावश्यकबाहेकका सेवाग्राहीलाई विभागले एक वर्षदेखि लाइसेन्स छापेर दिन सकेको छैन । आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन भने निषेधाज्ञाको अवधिमा लाइसेन्स छपाइ समेत रोकिएको थियो ।
हालसालै छपाइका लागि कार्ड आएपनि विभागले तुरुन्तै छपाइ थालिहाल्ने अवस्था भने छैन । विभागका निर्देशक रामचन्द्र पौडेल सेल्पले आपूर्ति गरेको कार्ड विभागले दिएको स्पेसिफिकसेन अनुसार भए/नभएको भन्नेबारे जाँच गर्न बाँकी छ ।
कार्डको मापदण्ड र गुणस्तर जाँच गर्न कसलाई दिने भन्नेबारे पनि अहिलेसम्म विभाग अन्योल छ । निर्देशक पौडेलका अनुसार सम्भावित कम्पनीको सूची बनाएर प्रक्रियाअनुसार छनोट हुने कम्पनीको कार्ड परीक्षण गराइने बताउँछन् । त्यसका लागि कार्डको स्याम्पल विदेशी कम्पनीमा पठाउनुपर्ने हुन्छ ।
अहिले करिब ७ लाख सवारी चालकहरु लाइसेन्स परीक्षा पास तथा नवीकरणको प्रक्रिया पुरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेका छन् ।
स्मार्ट लाइसेन्स उपलब्ध गराउन ढिलाइ भएपछि विभागले प्रक्रिया पुरा भएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिइरहेको छ । अस्थायी लाइसेन्सले एक वर्षको समस्या समाधान गरे पनि विभागले दुई वर्षसम्म नयाँ कार्ड छापेर उपलब्ध गराउन नसक्ने अवस्थामा छ ।