तिहारको अवधिमा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु



दाङ –
सवारी दुर्घटनामा जनधनको क्षति हुने क्रम रोकिन सकेको छैन् । लुम्बिनी र कर्णाली प्रदेशमा गत कार्तिक १५ देखि २१ सम्म एक साताको अवधिमा सवारी दुर्घटनामा ठुलो जनधनको क्षति भएको छ ।

दुई प्रदेशमा तिहारको अवधिमा ७० सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सवारी दुर्घटना कम भएपनि मानविय क्षती बढी भएको छ ।

कणर्ाली प्रदेशमा तिहारको अवधिमा २६ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कणर्ाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार कणर्ाली प्रदेशको सबैभन्दा बढी सल्यानमा मानविय क्षति भएको छ ।

सल्यानमा तिहारको समयमा १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । एक साताको अवधिमा सल्यानमा तीन सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सल्यानमा दुर्घटना हुने सवारीको संख्या कम भएपनि मानविय क्षति बढी भएको हो । तिहारको समयमा कणर्ाली प्रदेशको सल्यानपछि जाजरकोटमा सवारी दुर्घटनामा बढी मानविय क्षति भएको छ ।

जाजरकोटमा एक साताको अवधिमा दुई सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै सुर्खेतमा १६ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

एक साताको अवधिमा सुर्खेतमा साना ठुला सवारी साधन १६ वटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुर्खेतमा तिहारको अवधिमा सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन् । यस्तै सल्यानमा २९, जाजरकोटमा ९ घाइते भएका छन् । यस्तै मुगुमा ३ सवारी दुर्घटनामा ५, दैलेख र रुकुम पश्चिममा १/१ सवारी दुर्घटनामा १/१ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा साँघुरो सडक, यान्त्रीक कमजोरी, यात्रु अनुसारको सवारीको संख्या कमी लगायतका कारण दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका सहायक प्रवक्ता दिपक मगराटीले बताउनुभयो । ‘अरु समयमा भन्दा तिहारको समयमा सवारीको चाप बढी हुन्छ, तर सवारी साधन कमि हुँदा कोचाकोचको यात्रा हुँदा दुर्घटना बढेको पाइन्छ ।’ उहाँले भन्नुभयो-‘दुर्घटना न्युनिकरणका लागि विभिन्न प्रयास भएका छन् तर न्युनिकरणमा निकै चुनौति छ ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँची र पाल्पाबाहेक सबै जिल्लामा सवारी दुर्घटना भएका छन् । प्रदेशको राजधानी दाङसहित बाँके, बर्दिया, गुल्मी, रोल्पा, पश्चिम नवलपरासी, प्युठान, पुर्वीरुकुम, कपिलवस्तु र रुपन्देहीमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही र दाङमा मानविय क्षति बढी भएको छ । रुपन्देहीमा तिहारको अवधिमा ५ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने दाङमा ५ सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा पनि पाँच सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

यस्तै कपिलवस्तुमा ५ सवारी दुर्घटनामा एक, नवलपरासी पश्चिममा ९ सवारी दुर्घटनामा एक, कपिलवस्तुमा ५ सवारी दुर्घटनामा १, बाँकेमा ८ सवारी दुर्घटनामा र गुल्मीमा चार सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा सात दिनको अवधिमा ४४ सवारी दुर्घटनामा परेका छन् । प्रदेशको दाङसहित १० जिल्लामा भएको सवारी दुर्घटनामा ३७ जना गम्भिर घाइते भएका छन् भने २३ जना सामान्य घाइते भएका छन् ।

साँघुरो सडक, सवारीको चाप, चालकको लापरबाही, पुराना सवारी साधन लगायतका कारण सवारी दुर्घटना बढी भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी योगेन्द्र सिं थापाले बताउनुभयो । ‘चाडपर्वको समयमा यात्रुको चाप बढी हुने र तिब्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेका छन् ।’ उहाँले भन्नुभयो-‘सडक र सवारी साधनको कारण यात्रा बढी असुरक्षित हुने गरेको छ ।’

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस