खाना पकाउने ग्याँससहित इन्धनको मूल्य फेरि वृद्धि


दाङ–
नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी खाना पकाउने ग्याँससहित इन्धनको मूल्य फेरि बढाएको छ । निगमले दुई साता नबित्दै खाना पकाउने ग्याँस, पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेल तीनवटै पेट्रोलियमको मूल्य निगमले लिटरको ३ रुपैयाँले बढाएको छ भने ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरेको छ ।

यससँगै पेट्रोल लिटरको १३६ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको ११९ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिन्डरको १ हजार ५ सय ७५ रुपैयाँ पुगेको छ ।

यस्तै, आन्तरिक हवाइ इन्धन मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । बढाइएको मूल्य अनुसार अब हवाइ इन्धनको भाउ १०१ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य पनि प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुर्‍याइएको छ ।

बढेको मूल्य कात्तिक २४ गते राती १२ बजेदेखि लागु भइसकेको छ । आयल निगमले पछिल्लो १२ दिनमा पेट्रोलियम पदार्थको मूल्य दोस्रोपटक बढाएको हो ।

यसअघि निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) ले असोज ३० मा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड रुपैयाँ पुगेको भन्दै कात्तिक १२ गते राती १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले नै र एलपी ग्यासको प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

अहिले पुन ः बढेर आएको मूल्यअनुसार समायोजन नगरे निगमको घाटा चुलिँदै १५ दिनकै ३ अर्ब २ करोड पुग्ने भएकाले मूल्य केही बढाएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेशनले गत कात्तिक १५ (नोभेम्बर १) मा नै पठाएको मूल्यसूची अनुसार असोज ३० मा पठाएको मूल्यको तुलनामा निगमलाई औसतमा पेट्रोलमा प्रतिलिटर ७.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.९२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ११.४९ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.११ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २४६.९७ रुपैयाले थप मूल्य बढेर आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । यो नयाँ बढाएर पठाएको मूल्यका आधारमा नै १५ दिनको घाटा ३ अर्ब (अर्थात मासिक औसत ६ अर्ब) नाघ्ने अवस्था बनेपछि मूल्य समायोजन गरेको निगमको भनाइ छ ।

इन्धनको मूल्य छोटो अवधिमै यस्तरी उकालो लाग्दै जाँदा यसको असर वस्तु तथा सेवा उत्पादन, ढुवानी र उपभोक्ता मूल्यसम्म पर्ने हुँदा यसले मुद्रास्फीति (महँगी) को पारो उकालो लाग्ने सम्भावना बलियो बनेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस