लाइसेन्सको आवेदन खुलेको दुई दिनमै बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) खुलेको दुई दिनमै आवेदन प्रणाली बन्द भएको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।

नियमित रुपमा फाराम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् ।

विभागले एक सूचना जारी गरी प्राविधिक कारणले अनलाइन प्रणाली बन्द भएको बताएको छ । लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताए पनि विभागले सोवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकेको थियो ।

त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाइरहेका थिए ।

नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस