
दाङ-लगातारको वर्षाले देशभर ठुलो धनजनको क्षति पुगेको छ । बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी-पहिरोले १६ जनाको मृत्यु भएको छ ।
यस्तै चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् । पछिल्लो तीन दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना डडेलधुरामा र सुनसरीमा दुई / दुई जना तथा कालीकोट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका-११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका-३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका-४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।
यसैगरी सायल गाउँपालिका-६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका-१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।
केआइसिंह गाउँपालिका-४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उहाँको तीन वर्षीया नाती सोम पार्की छन् ।
अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उहाँकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ
कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उहाँकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृत्यु भएको छ । सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका-३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।
यस्तै बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ । थलारा गाउँपालिका-४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताउनुभयो ।
कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको मंगलबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै टीकापुरमा कणर्ाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका-५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।