आज (शुक्रबार) मन्त्रिपरिषद विस्तार हुने, साँझ मन्त्रीहरुको शपथ

काठमाडौं । सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । शीर्ष नेताहरुले मन्त्रालयको भाडबण्डा टुंग्याएसँगै करिब तीन महिनापछि मन्त्रीपरिषदले पूर्णता पाउन थालेको हो ।

आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको शपथ पनि आजै साँझ हुने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

सहमति अनुसार एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार शुक्रबार विहान ११ बजे स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।

स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिने सहमति जुटेको छ । यस्तै रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिनेछ । उसले गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै स्थायी कमिटीबाट गरेको थियो । यद्यपि कसले कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ ।

अर्को सत्तारूढ दल, जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सत्तारुढ दलहरुले मन्त्रीहरुको नाम पठाएपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुनेछ र र साँझसम्म शपथ भइसक्ने छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस