काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् । बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् ।
‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान् सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु,’ देउवाले भने । पूर्वसभापति देउवाले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिल्नेमा विश्वस्त रहेको पनि बताए ।
‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास दिलाउँदै, जो लाग्नु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट हामीलाई न्याय मिल्ने छ भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने ।
विदेशबाट उपचार गरेर स्वदेश फर्किँदा पाएको माया आफूले मात्रै नभएर सबै कांग्रेसका सच्चा कार्यकर्ताले पाएको देउवाको भनाइ थियो ।


