काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको बताएका छन् ।
बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेका नवनियुक्त मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेको बताए।
शपथग्रहणपछि ग्यासको अभावबारे सोधिएको प्रश्नमा उनले भने, ‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।’
उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सर्वप्रथम निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने र त्यसैका आधारमा अघि बढ्ने बताए ।
मन्त्रालयमा पुगेपछि नवनियुक्त मन्त्रीले शिष्टता र श्रद्धा प्रदर्शन गरे । मन्त्रालयको ढोकामा आफ्ना जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका उनले त्यहाँ राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका छन् ।
गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा नियुक्त गरिएको हो।


